काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी आएपछि सचेत र सतर्क रहन आग्रह गरिएको छ। बाढीले रसुवाको टिमुरे बजार बगाएको छ।
बाढीका कारण त्रिशूली नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले आग्रह गरेको हो।
नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लाका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। साथै यी जिल्ला जाने सवारीसाधन काठमाडौंमा नै रोकिएको छ।
भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले नदी आसपास नजान, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न पनि आग्रह गरिएको छ।
बाढीबाट हुन सक्ने सम्भावित जोखिम र क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।



