काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि, हरित ऊर्जा र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउनुपर्ने बताएका छन्।
‘नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल’ले आयोजना गरेको ‘१८औं नाडा अटो शो २०२६’ को समुद्घाटन समारोहलाई मङ्गलबार सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन्।
उनले यो संस्करण नाडा स्थापनाको स्वर्ण जयन्ती पनि भएकाले प्रदर्शनीलाई व्यापारिक मेला मात्र नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्र कोर्ने अवसर बनोस् भनी शुभकामना व्यक्त दिए।
उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै ‘नाडा अटो शो’ले विगत लामो समयदेखि नवप्रवर्तन र सहकार्यको नयाँ आयाम थप्दै आएकोमा खुशी व्यक्त गरे। उनले भने, ‘अब नेपालमै सवारीसाधन उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्ने आवश्यकता छ। ’
उपराष्ट्रपति यादवले हरित ऊर्जामा आधारित सवारीसाधनलाई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
‘नेपाल जलस्रोतमा धनी भएकाले जलविद्युत् उत्पादनलाई विद्युतीय सवारीसाधनसँग जोडेर इन्धन आयातमा निर्भरता घटाउने उपाय बुद्धिमानी र दिगो हुन सक्छ ’ उनले भने, ‘ईभी प्रविधिले कार्बन उत्सर्जन न्यूनतममा झार्दै सहरी वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका असरहरूसँग लड्न सहयोग पुग्न सक्छ। ’
संविधानले सुनिश्चित गरेको समावेशी लोकतन्त्र र समान अवसरलाई आत्मसात् गर्दै अटोमोबाइल क्षेत्रको लाभ समाजका सबै वर्गसम्म पुग्नुपर्नेमा उनको जोड थियो।
‘उद्योग, व्यवसाय, सरकार र नागरिक समाजको साझा प्रयासले मात्र नेपाललाई सुन्दर, शान्त, समृद्ध र उन्नत बनाउन सकिन्छ’उनले भने। उ अले नाडाको स्वर्ण जयन्तीमा हार्दिक बधाई तथा प्रदर्शनीको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरे।



