काठमाडौँ। नेपाल चिकित्सक संघले धनुषाको जनकपुरस्थित एक स्वास्थ्य संस्थामा कार्यरत चिकित्समाथि भएको कुटपिटको घटनाका दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ।
संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्व राज दवाडीद्वारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिअनुसार भदौ ५ गते जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि हातपात गरेको थियो।
सेन्टरमा नै काम गरिरहेको समयमा एक हुल मानिस आएर उनीमाथि हातपात भएको भन्दै संघले घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो
आक्रमणकारीहरूले डा. अधिकारीका बुबालाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको संघले जनाएको छ।स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको यस्तो आक्रामक तथा निन्दनीय कार्यको भर्त्सना गर्दै संघले समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित पार्ने गरी घटना घटाइएको उल्लेख गरेको छ।
संघले विज्ञप्तिमा सो अमानवीय घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याउन माग गरेको छ।
यसैगरी संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।



