काठमाडौं। नेपाल धितोपत्र बोर्डले करिब एक वर्षपछि नेतृत्व पाएको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई चयन गरेको हो।
मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो। त्यसयता बोर्ड नेतृत्व विहिन थियो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ। सो ऐन अनुसार नै अहिलेसम्म बोर्ड चल्दै आएको थियो।
सरकारले २०८० माघ ३ गते नेतृत्व चयनका लागि भन्दै राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। सो समितिले २०८० फागुन १४ गते सूचना जारी गर्दै अध्यक्षमा दरखास्त माग गरेकोमा अन्तिम दिन फागुन ३० गतेसम्म १९ जनाले आवेदन दिएका थिए।
त्यसपछि समितिले ५ जनालाई सर्ट लिस्ट गरेको थियो। सो सर्ट लिस्टबाट पनि नेतृत्व छान्न पटकपटक अन्तर्वार्ताको मिति तय हुँदै रोकिंदै आएको थियो। पहिलोपटक सर्ट लिस्टमा परेकाहरुलाई गत असार ५ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो। तर दुई जना मात्र अन्तर्वार्तामा आएपछि नियमानुसार प्रक्रिया पूरा गर्न नसकेपछि सम्पुर्ण प्रक्रिया रद्द गरेर पुन: प्रक्रिया सुरु गरिएको थियो।
पहिलोपटक अन्तर्वार्तामा बोलाउदा सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै आएका थिए। तर सर्टलिस्टमा परेर पनि चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र नवराज अधिकारी अन्तर्वार्ताका लागि सहभागी नभएपछि नेतृत्व चयनको प्रक्रिया लम्बिएको थियो।
धितोपत्र बोर्ड ऐन २०६३ मा बोर्डको अध्यक्षका लागि तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर २ जना मात्रै अन्तर्वार्तामा आएपछि ३ जनाको नाम सिफारीस हुन नसक्दा प्रक्रिया नै रद्द गरिएको थियो।
सरकारको प्रक्रिया रद्ध गरेपछि सन्तोषनारायण श्रेष्ठले सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।श्रेष्ठले दायर गरेको रिटको फैसलाले पुरानै प्रक्रियाबाट अध्यक्ष छनौट प्रक्रियाको बाटो खोलिदिएको थियो।
त्यसपछि अध्यक्ष चयनका लागि रोकिएको प्रक्रिया पुन: अगाडि बढ्दा पहिले अन्तरवार्तामा सहभागी नभएका तीन जनालाई फेरि बोलाइएको थियो। तर, नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चापागाईं सहभागी भएनन्। समितिले सूचना जारी गर्दै उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे अन्तरवार्ताका लागि बोलाएको थियो।
त्यसपछि आइतबार सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो। उनीहरूमध्येबाट मन्त्रिपरिषद्ले सन्तोषनारायणलाई नियुक्त गरेको हो।



