मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीपहिरोको वितण्डा

मृत्यु हुने सबैभन्दा धेरै काभ्रेका

मृत्यु हुने सबैभन्दा धेरै काभ्रेका

images
२०८१ आश्विन २० गते, आइतवार
२०८१ आश्विन २० गते, आइतवार
  • काठमाडौं। गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण हालसम्म २४४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै काभ्रे जिल्लाका छन्। काभ्रेमा ७२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

    images

    गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार बाढी पहिरोमा परी हालसम्म २४४ जनाको मृत्यु भएको हो । बाढी पहिरोमा परेर अझै १९ जना बेपत्ता छन् भने १७९ जना घाइते छन्।

    images

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ। यस्तै सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ।

    ‘बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको छ, त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ,’ तिवारीले भने, ‘स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ।’

    सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाख रुपैयाँका दरले मृतकका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन्। काभ्रेमा मात्रै हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको गृह मन्त्रालय बताउँछ।

    बाढी तथा पहिरोमा परी ४ हजार ६६७ घरहरु पूणर्रुपमा क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ। यसैगरी ५ हजार ३१० घरमा आंशिक क्षति पुगेको छ।

    यस्तै १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन्। गृह प्रवक्ता तिवारीका अनुसार बाढी तथा पहिरोमा परेका र अबरुद्ध सडकमा फँसेका गरी १७ हजार १७४ जनाको उद्धारउद्धार गरिएको छ। जसमा ९१० जनालाई हेलिकप्टरबाट मात्रै उद्धार गरिएको छ । उद्धार गरिएका कतिपयलाई अस्पताल लगिएको छ।

    बाढीपहिराका कारण ११ वटा जलविद्युत आयोजनामा क्षती पुगेको छ भने ६ वटा सिंचाइ आयोजनामासमेत क्षती पुगेको छ। यसैगरी विभिन्न १० राजमार्गमा रहेका ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ।

    यसैगरी ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ। प्रवक्ता तिवारीले खोज, उद्दार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकायसँग गृह मन्त्रालयले समन्वय गरिरहेको जानकारीसमेत दिए।

    काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ। प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ। अवरुद्ध सडक पुनः सुचारु गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ ।

    मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ। कार्यदललाई प्रभावितहरुको तत्काल उद्दार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend