काठमाडौं। तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
स्वतन्त्र आमा नेपालको आयोजनामा चौधरीको न्यायका लागि भन्दै शुक्रवार माइतीघर मण्डलामा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरुले उनीहरूले हत्यारालाई फाँसी दे, गरिमा चौधरीलाई न्याय दे, शान्ति सुरक्षाको ग्यारेन्टी गर जस्ता नारासमेत लगाएका थिए।
प्रदर्शनमा सहभागी बाराकी शोभा उप्रेतीले आफुहरु गरिमाको न्यायका लागि प्रदर्शनमा आएको बताइन्। यसैगरी बाराकै शोभा खनालले यस्ता घटना अरु गरिमाहरुले भोग्न नपरोस भन्ने माग आफुहरुको रहेको भन्दै घटनामा संलग्नलाई फाँसीको सजाय हुनुपर्ने बताइन्।
प्रदर्शनमा सहभागीले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन्। ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ। यो कुरा सरकारले सुन्नैपर्छ। सबैका घरमा छोराछोरी छन्। यस्ता घटना दोहोरिन नदिन कानुनलाई बलियो बनाउनुपर्छ,’ प्रदर्शनमा आएकाहरुको आवाज थियो।
प्रदर्शनमा सहभागी अनु शर्माले महिलामाथि हुने अन्याय अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताइन्। ‘महिलामाथि असाध्यै अन्याय भइरहेको छ। माइतीघरमा आएर प्रदर्शन गर्दैमा मात्र समस्याको समाधान हुँदैन। सरकारले हाम्रो आवाज सुन्नुपर्छ र कानुनमा आवश्यक परिवर्तन ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यस्ता जघन्य अपराधका घटनामा कानुन फितलो हुनुहुँदैन।’
प्रदर्शनकारीहरूले बालबालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुन निर्माण, विद्यमान कानुनको संशोधन तथा अपराधीमाथि कडा कारबाहीको माग गरेका छन्। त्यसका लागि प्रतिनिधि सभामार्फत आवश्यक पहल हुनु पर्ने र सरकारले अग्रसरता लिनु पर्ने उनीहरूले माग गरेका छन्।



