झापा। झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) बाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।
वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको हो। पछिल्लो तथ्यांकअनुसार मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको हो।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो।
यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ। झापामा जेइ सङ्क्रमणबाट हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ।
जनस्वास्थ्य निरीक्षक श्रेष्ठले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनुका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन गरिएको जानकारी दिए।
जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो। यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ। क्यूलेक्स लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन्। यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्ने चिकित्सकहरु बताउँछन्।
यी हुन सक्छन् लक्षण:
उच्च ज्वरो आउनु
मुर्छा पर्नु
घाँटी अररो हुनु
बोल्न नसक्ने अवस्थामा पुग्नु
शरीर अनियन्त्रित भएर कामिरहनु
मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु
जेइको सङ्क्रमणबाट जोगिने सबैभन्दा महत्त्वपूर्ण उपाय लामखुट्टेको टोकाइबाट जोगिनु हो। त्यसका लागि जनचेतना फैलाउनेमा नै बढी केन्द्रित हुनुपर्ने चिकित्सकहरु बताउँछन्।
यसैगरी लामखुट्टे भगाउने पदार्थ वा साधन प्रयोग गर्ने, बाहिर निस्कँदा लामो, खुकुलो, लुगा लगाउने, हातखुट्टा छोप्ने, लामखुट्टे बढी सक्रिय हुने झिसमिसे र साँझको समयमा घरबाहिर ननिस्कने त तथा घरमा झुल वा जाली प्रयोग गर्न सकिनेमा उनीहरूको जोड छ।



