मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

किरण थापाको राजनीतिक छलाङ : वडा अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

किरण थापाको राजनीतिक छलाङ : वडा अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

images
२०८३ भाद्र ४ गते, बिहिवार
२०८३ भाद्र ४ गते, बिहिवार
  • काठमाडौँ। करिब साढे चार वर्षअघि सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षको कार्यकाल पुरा गरेका किरण थापा मगर बिहीबार बागमती प्रदेशको मूख्यमन्त्री नियुक्त भएका छन्।

    images

    वडाध्यक्ष पछिको साढे चार बर्षमा उनी बागमती प्रदेशसभा सदस्य बने, दुईपटक प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले र अहिले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भए।

    images

    नेपाली राजनीतिमा यति तीव्र गतिमा जिम्मेवारीको उचाइमा पुग्ने नेताहरू अपवादमा मात्रै हुन्छन्। स्थानीय तहको नेतृत्वबाट प्रदेशको सर्वोच्च कार्यकारी पदसम्मको उनको यात्रा राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

    नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै उनको राजनीतिक यात्राले अर्को महत्वपूर्ण मोड लिएको छ। या मानौं उनले राजनीतिक यात्रामा छलाङ नै मारे। एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको हो।

    मुख्यमन्त्रीका लागि एमालेभित्रै तीव्र प्रतिस्पर्धा र आन्तरिक छलफल चलिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत निरन्तर चासो र छलफलपछि थापाको नाममा सहमति जुटेको थियो। पछिल्लो समय थापालाई अध्यक्ष ओलीका विश्वासपात्र नेताका रूपमा समेत हेर्ने गरिएको छ।

    एमालेभित्र उनको बढ्दो राजनीतिक प्रभाव र पार्टी नेतृत्वसँगको निकट सम्बन्धले पनि मुख्यमन्त्रीको दौडमा उनलाई बलियो बनाएको हो। तर थापाको राजनीतिक उचाइ एकैपटक बनेको भने होइन। 

    राप्रपाबाट एमाले, एमालेबाट सत्ताको केन्द्रसम्म

    किरण थापाको राजनीतिक पृष्ठभूमि भने अहिलेको दल एमालेबाट सुरु भएको होइन। उनी यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए। पछि नेकपा एमालेमा प्रवेश गरेका हुन्।

    एमालेमा प्रवेश गरेको एक दशकमा उनले पार्टीबाट धेरैवटा महत्वपूर्ण अवसर र जिम्मेवारी प्राप्त गरिसकेका छन्। स्थानीय राजनीतिमा सक्रिय थापा एमाले प्रवेश गरेपछि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष बने। स्थानीय जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाएपछि उनको राजनीतिक यात्रा स्थानीय तहबाट प्रदेश राजनीतितर्फ अघि बढ्यो।

    पाँच बर्षसम्म वडाध्यक्ष रहेका उनी त्यसपछि बागमती प्रदेशसभामा पुगे। प्रदेशसभा सदस्य बनेपछि उनको राजनीतिक उचाइ अझ तीव्र गतिमा बढ्यो। प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए। अझ रोचक कुरा–उनी दुईपटक स्वास्थ्य मन्त्री बने। स्थानीय तहको वडाध्यक्षबाट प्रदेश सांसद, त्यसपछि दुईपटक मन्त्री र अब मुख्यमन्त्री। 

    वडा अध्यक्षको कार्यकाल सकिएको करिब साढे चार वर्षको यो यात्रा हेर्दा थापाको राजनीतिक आरोहण असाधारण देखिन्छ।

    स्वास्थ्य मन्त्रालयमा काम गर्ने अवसर

    थापाको राजनीतिक यात्रामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि महत्वपूर्ण अध्याय हो। स्वास्थ्य मन्त्रीका रूपमा उनले आफ्नो जिम्मेवारीलाई सकारात्मक ढंगले अघि बढाउने प्रयास गरेका थिए। प्रदेशमा काम गर्ने मन्त्रीका रुपमा उनको मात्रै चर्चा हुन्थ्यो। प्रदेशका स्वास्थ्य संस्था, स्वास्थ्य सेवा विस्तार र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने विषयलाई उनले प्राथमिकतामा राखेर काम गरेका थिए।

    मन्त्रीका रूपमा छोटो समयमै प्रभाव देखाउने कार्य गर्न सफल रहेका कारण पनि पार्टी नेतृत्वले उनलाई महत्वपूर्ण जिम्मेवारीका लागि योग्य ठानेको एमाले नेताहरू बताउँछन्।

    राजनीतिमा पद पाउनु एउटा कुरा हो, पाएको जिम्मेवारीमा आफ्नो उपस्थिति देखाउनु अर्को कुरा । थापाको हकमा स्थानीय तहदेखि प्रदेश सरकारसम्मका जिम्मेवारीले उनको राजनीतिक क्षमताको परीक्षण गर्ने अवसर दिएको देखिन्छ।

    अंकगणितको चुनौती

    तर मुख्यमन्त्री बन्ने निर्णयसँगै थापासामु राजनीतिक चुनौती पनि उत्तिकै थियो। १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर एमाले र नेकपासँग जम्मा ५१ जना मात्र छन्। त्यसमा पनि एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले सरकार गठनको अंकगणितमा थप जटिलता देखिन्थ्यो। तर राप्रपाको एक समूहले समर्थन गर्ने लिखित पत्र प्रदेश प्रमुखलाई पठाएपछि भने किरण थापा मूख्यमन्त्री भएका हुन्।  

    यद्यपि राप्रपा भित्रको खिचातानीले मुख्यमन्त्रीले विश्वासको मत लिने आधार भने धर्मराएको छ।

    ओलीको विश्वास र नयाँ जिम्मेवारी
    एमालेभित्र अध्यक्ष ओलीको निर्णय र विश्वास राजनीतिक अवसरका लागि महत्वपूर्ण मानिन्छ। थापाको हकमा पनि यही सम्बन्ध अहिले निर्णायक बनेको देखिन्छ।

    मुख्यमन्त्रीका लागि एमालेभित्रै आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेका बेला अध्यक्ष ओलीले थापासहितका नेताहरूसँग निरन्तर छलफल गरेका थिए। अन्ततः संसदीय दलको बैठकले थापाको नाममा निर्णय गर्यो। थापाले प्रदेशमा मिलनसार राजनीतिज्ञको छवी स्थापित गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend