काठमाडौँ। गत पुस यता हालसम्म देशभर २ हजार ८ सय ४४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०८२ पुस १७ गतेदेखि साउन ३० गतेसम्म (जनवरी १ देखि अगस्त १५ ) सम्मको सो विवरण सार्वजनिक गरेको हो।
उक्त विवरण ७४ जिल्लाहरुबाट प्रतिवेदन भएको र सो अवधिमा डेंगी सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ।
सबैभन्दा बढी डेंगीका बिरामी गण्डकी प्रदेशमा भेटिएका छन्। गण्डकी प्रदेशमा कूल १ हजार १० जना सङ्क्रमित छन् भने कोशी प्रदेशमा ६७४ जना र लुम्बिनी प्रदेशमा ४३५ जना सङ्क्रमित छन्।
यसैगरी बागमती प्रदेशमा ४२७, सुदूरपश्चिम प्रदेशमा १२२ तथा मधेस र कर्णाली प्रदेशमा समान ८८/८८ जनामा डेंगी पुष्टि भएको छ।
डेंगी संक्रमण धेरै प्रतिवेदन भएका जिल्ला र स्थानीयतहहरुमा महाशाखाबाट अवस्थाको विश्लेषण सहित डेंगीको रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने सुझाव समेत निरन्तर भईरहेको महाशाखा बताउँछ।
बागलुङ, झापा, सुनसरी, कास्की, पाल्पा लगायतका जिल्लाहरुमा केही संक्रमण बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ। बागलुङमा ४७० जना सङ्क्रमित भेटिएका छन् भने झापामा २०८, सुनसरीमा २०५, कास्कीमा १७८ र पाल्पामा १२६ जना छन्।
यस्तै नगरपालिकाको हकमा हाल बागलुङ नगरपालिका ३९५, भद्रपुर नगरपालिका १०६ , धरान उपमहानगरपालिका ९० र इटहरी नगरपालिका ८८ जनामा डेंगी संक्रमण भएको तथ्यांक छ।
डेंगीको जोखिम बढेपछि स्वास्थ्य विभागले लामखुट्टेको टोकाइबाट बच्न र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन सर्वसाधारणमा अपिल गरेको छ। घर, कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्न नदिन, खाडलहरू पुर्न र पानी राख्ने भाँडाहरू सधैँ ढाकेर राख्न आग्रह गरिएको छ।
साथै, लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउन, राति तथा दिउँसो झुलभित्र सुत्न र शरीरका खुला भागमा लामखुट्टे भगाउने मलम प्रयोग गर्न महाशाखाले सुझाव दिएको छ।



