काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी काठमाडौंको धरहराबाट अनावरण गरिएको छ।
सोमबार विहान नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गर्दै सार्वजनिक गरेका हुन। ट्रफी अनावरण कार्यक्रममा एनपीएलमा सहभागी ८ टिमका मार्की खेलाडीहरुसमेत सहभागी थिए।
सो क्रममा प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको भन्दै सबै टीमलाई खेलका लागि शुभकामना दिए।
उनले एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री भने, ‘अहिले सबैलाई शुभकामना, जितेपछि जित्नेलाई बधाई दिनेछु ।’
सरकारले खेलकुद क्षेत्रलाई आवश्य प्रोत्साहन गर्न नसकेको भने स्वीकार गरे।
खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन, यो वास्तविकता हो, मलाइ पनि चित्त बुझेको छैन,´ ओलीले भने।
सरकारको आवश्यक सहयोग बिनापनि उल्लेखनीय प्रगती गरेकोमा खेलाडी हरुलाई प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्दै एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे ।
एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए। त्यसकारण एनपीएलको ट्रफी ट्रफीमात्र नभएर विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए।
आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए। ट्रफी अनावरण कार्यक्रममा उनीहरुलाई खादा ओढाएर सम्मानसमेत गरिएको छ।
एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ।
प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्ट्समार्फत गर्दैछ।
प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन्। उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुने छ।



