काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कारपियो गाडी दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ।
मङ्गलबार बिहान करिब ७ बजे भएको दुर्घटनामा घाइतेमध्ये चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँस्थित छाउनी अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा ४९ वर्षीया लक्ष्मी बडुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले लक्ष्मी बडुको छाउनी अस्पतालमा उपचारका क्रममा बिहान १०ः२९ बजे मृत्यु भएको जानकारी दिए। मृतक लक्ष्मी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुन्।
हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत जुरिखेतमा काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहानै दुर्घटना भएको थियो।
उक्त गाडीमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित छ जना सवार थिए।
दुर्घटनामा गाडी चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी तथा दाङकै तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय मुख्य न्यायाधीश गोकर्ण डाँगी घाइते छन्।
यस्तै, बैतडीको दशरथचन्द नगरपालिका–७ का ५१ वर्षीय रजिस्ट्रार तारादत्त बडु, उनका २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रीता बडु पनि घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये चालक चौधरी र रजिस्ट्रार बडुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। अन्य चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
प्रहरीका अनुसार स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनापछि तत्काल घाइतेको उद्धार गरी प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको थियो।



