काठमाडौँ। मकवानपुरमा स्कार्पियो दुर्घटनामा घाइते भएका उच्च अदालत वीरगञ्ज ईजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारको लागि वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ।
काठमाडौं-कुलेखानी-हेटौंडा सडकखण्ड अन्तर्गत भीमफेदी-६, जुरिखेतमा मंगलबार बिहान ७ बजे स्कार्पियो दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका थिए।
दुर्घटनामा रजिष्टार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, छोरी रिता बडु र चालक छुनिलाल चौधरी घाइते भएका थिए।
घाइतेमध्ये रजिष्टार बडुकी श्रीमती लक्ष्मीको अवस्था गम्भीर भएको र उनको टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।
दुर्घटनापछि तत्काल घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भिमफेदीस्थित अस्पताल पठाइएको थियो।




