काठमाडौँ। आइतबार बैतडीमा रहेका बेला अकस्मात बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई ज्वरोसँगै पिसाबको संक्रमण देखिएको छ।
लम्साललाई आइतबार बैतडीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पुर्याएर त्यहाँबाट सेनाकै स्काइट्रकमा काठमाडौँ ल्याइएको थियो भने विरेन्द्र सैनिक अस्पताल छाउनिमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो।
मन्त्री लम्सालको सचिवालयका अनुसार उनलाई डिस्चार्ज गरेर अस्पतालबाट निवास लगिएको छ।
`उच्च ज्वरोका कारण बिरामी पर्नुभएका पूर्वाधार विकास मन्त्री सुनील लम्साल हाल स्वास्थ्य लाभ गरिरहनुभएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण स्थगित गरी उहाँ आईतबार राति काठमाडौं फर्किनुभएको हो।´ उनको सचिवालए भनेको छ।
उनलाई उच्च ज्वरोसँगै शरीर दुख्ने तथा हिँडडुल गर्नसमेत कठिनाइ भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
`स्वास्थ्य परीक्षणका क्रममा उहाँको पिसाबमा समेत संक्रमण देखिएको छ। चिकित्सकहरूले एन्टिबायोटिक औषधि सेवन गर्दै कम्तीमा पाँच दिन पूर्ण रूपमा आराम गर्न सुझाव दिनुभएको छ।´ मन्त्री लम्सालको सचिवालयले भनेको छ, `हाल उहाँ चिकित्सकहरूको सल्लाहअनुसार निवासमै आराम गरिरहनुभएको छ।´



