काठमाडौं। राहदानी वितरणको काम विगत पाँच दिनदेखि ठप्प छ।
राहदानी विभागको मुख्य कार्यालयदेखि जिल्ला प्रसाशन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट राहदानी वितरणको काम ठप्प भएको छ।
आइतबार विभागमा भने समस्याको पहिचान भएकाले सोमबारदेखि सेवा सुरु हुनसक्ने सम्भावना देखिएको छ। विभागले आइतवार सुचना निकाल्दै पहिले नै फाराम भरिसकेका सेवाग्राहीलाई सेवा दिन सक्ने अवस्था भएको र क्रमशः नयाँ फाराम भर्नेहरुमा पनि सेवा दिन सुरुगरिने विभागले भनेको हो।
आइतबार सेवा सुरु गर्ने तयारी भए पनि सिस्टममा समस्या कायम हुँदा वितरणको काम हुन सकेन
जसका कारण पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन्।
राहदानी विभागले आइतबारको पहिलो सूचनामा विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी सेवा प्रभावित नै रहेको जानकारी दिएको थियो। तर अद्यावधिक सुचनामा विभागबाहेक अन्यत्र सेवा सुरुहुन समय लाग्ने भनिएको छ।
विभागले सेवाग्राहीलाई परेको मर्काका लागि क्षमायाचना पनि गरेको छ। समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेकाले छिट्टै सेवा सुरु हुने विभागको दाबी छ।
सेवा रोकिंदा राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरू प्रभावित भएका छन्। बुधबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प छ।
प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर भाइरस छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरको विभागले जनाएको छ। तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुने विभागले बताइरहेको छ।



