काठमाडौँ। रोल्पाको थबाङ गाउँपालिका –०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिंदा मृत्युु हुनेको संख्या १० पुगेको छ। मृतक १०जनाकै सनाखत भइसकेको छ।
बुधबार राति करिब ८:४० बजे घर माथिबाट पहिरो खस्दा थबाङ–०५ कोटलबारामा २ जनाको मृत्यु भएकोमा थप ८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनामा ३ जना बेपत्ता छन्। बेपत्ता हुनेहरुको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ।
पहिरोमा परेर मृत्यु हुनेहरुमा ६० वर्षका कमलबहादुर पुन मगर, १८ वर्षीया शान्ति पुन मगर,७१ वर्षीया मनखना पुन मगर, ७५ वर्षका दल बहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर छन्। उनीहरूको शव रुकुममै भेटिएको थियो। तर अन्य ५ जनाको शब भने छिमेकी जिल्ला प्युठानमा भेटिएको हो।
पहिरोले बगाएर प्युठान पुर्याएको अवस्थामा थबाङ ५ कोटलबाराका कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगरको शव फेला परेको हो।
पहिरोमा परी घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई उपचारका लागि बुटवल पठाइएको छ भने बेपत्ता भएका ३ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जानकारी दिएको छ।
बेपत्ता हुनेहरूमा ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिल बहादुर पुन मगर छन्।
प्रहरीका अनुसार पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित ९ वटा घर, २ गोठ, घुम्ती पसल रचर्च पुरिएका थिए। घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सो क्रममा कमलबहादुर पुन मगरसहित मानिस तथा चौपाया पहिरोमा पुरिएको खुलेको थियो।
प्रहरीसहित स्थानीयको सहयोगमा राति ११:५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्दार गरिएको थियो।
थप उद्धारका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका थिए। घटनास्थलमा अझै उद्धार तथा खोजी कार्य जारी छ।



