जुम्ला। जुम्लामा मानसिक स्वास्थ्य सेवालाई स्थानीय स्तरसम्म विस्तार गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरूका लागि `एमएचजीएपी मुड्युल टु बी´ तालिम संचालन गरिएको छ।
कर्णाली प्रदेश तालिम प्रतिष्ठानको आयोजनामा, सिबिएम ग्लोबलको आर्थिक सहयोग तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी.-नेपाल) द्वारा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
तालिममा सिंजा गाउँपालिका, चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २० जना स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।
तालिममार्फत स्थानीय स्वास्थ्य संस्थाबाटै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, प्रारम्भिक उपचार, आवश्यक परामर्श तथा थप सेवाका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरिएको छ।
यस पहलले स्थानीय स्वास्थ्य संस्थामा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य सेवा पनि प्रभावकारी रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अर्थात्, “टाउको दुखेको उपचार हुने स्थानबाटै मनको उपचार पनि सुरु हुने” अवस्थातर्फ अघि बढ्ने महत्वपूर्ण आधार तयार भएको छ।



