काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको आयोजनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका आधारभूत पक्ष, तनाव व्यवस्थापन, सङ्कटका समयमा देखिने मनोसामाजिक प्रभाव तथा आत्महेरचाहका उपायबारे सहभागीहरूलाई ज्ञान तथा व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
अभिमुखीकरणको उद्देश्य र विषयवस्तु र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्दै आएको MHPSS Intervention तथा MHPSS Wellness Service सम्बन्धी जानकारीमूलक सत्रबाट कार्यक्रमको सुरुवात गरिएको थियो।
अभिमुखीकरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मनोविज्ञान विभागका लेक्चरर द्वय डा. खेमराज भट्ट र विनोद पौडेलले मानसिक समस्या तथा तनावको पहिचान र तनाव व्यवस्थापनका सीप सम्बन्धी सत्रमा सहभागीहरूलाई मानसिक तथा मनोसामाजिक समस्याका सङ्केतहरू पहिचान गर्ने, तनावका कारण तथा प्रभाव बुझ्ने र तनाव व्यवस्थापनका विभिन्न उपायहरू अपनाउने विषयमा व्यावहारिक अभ्यास गराउँदै जानकारी प्रदान गरेका थिए।
कार्यक्रममा ४१ जना कर्मचारीहरूको सहभागिता रहेको थियो, जसमा १६ जना महिला सहभागी रहेका थिए।



