काठमाडौं। स्वास्थ्य उपचारका लागि देश बाहिर रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।
देउवा आज मध्यान्ह १२ बजे थाइल्याण्डबाट थाई एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
उनको स्वागतका लागि साउन २९ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागिएको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थलमा पुग्ने कार्यक्रम तय भएको छ। उनको स्वागतका लागि बाजागाजासहित झाँकीसमेत तयार गरिएको छ।
देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने छन्।
कांग्रेसका निवर्तमान सभापति देउवा स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए। त्यहाबाट उनी गत चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए। आज उनी थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन्।
देउवा स्वदेश आएपछि साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।



