काठमाडौँ। सरकारले नेपालमा पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनले मन्त्रिपरिषद् बैठकमार्फत भएका पाँच निर्णय सार्वजनिक समेत गरे।
बैठकले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ। शहीद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादव छन्।
त्यस्तै पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि मन्त्री परिषद् बैठकले गरेको छ भने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको छ।
यसैगरी पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिले तयार पारेको २०८० सालको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



