काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग एकैदिन दुई शक्तिशाली मुलुकका राजदूतले भेटवार्ता गरेका छन्।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सोमबार एकैदिन प्रधानमन्त्री शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर अलगअलग समयमा भेटवार्ता गरेका हुन्।
भेटवार्ताका लागि भारतीय राजदूत श्रीवास्तव पहिले पुगेका थिए। सो भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सो क्रममा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।
त्यसपछि आजै दिउँसो जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले प्रधानमन्त्री शाहलाई भेटेका हुन्।
भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो।
सो भेटका क्रममा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए।
राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।



