काठमाडौँ। माडीमा पटकपटक देखिँदै आएको विद्युत् समस्या दीर्घकालीन रूपमा समाधान गर्न चितवन राष्ट्रिय निकुञ्जको करिब ८ किलोमिटर क्षेत्रमा २५ मेगावाट क्षमताको नयाँ भूमिगत विद्युत् लाइन निर्माणको काम अघि बढेको छ।
हालको ८ मेगावाट क्षमताको भूमिगत लाइनमा बारम्बार समस्या आउने र मर्मतमा लामो समय लाग्ने अवस्थालाई अन्त्य गरी माडीका उपभोक्तालाई भरपर्दो र नियमित विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले यो काम अघि बढाइएको हो।
सो कामका लागि वर्षात् सकिएसँगै निर्माण कार्यले तीव्रता पाउने उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा कानुन मन्त्री सोविता गौतमले जानकारी दिइन्। सम्झौताअनुसार निर्माण कार्य सुरुभएपछि नौ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको छ।
मन्त्री गौतमले माडीको दीर्घकालीन विद्युत् समस्या समाधानका लागि यो महत्वपूर्ण कदम हुने पनि दावी गरिन। उनले काम समयमै र गुणस्तरीय रूपमा सम्पन्न होस् भन्नेमा निरन्तर समन्वय र निगरानी रहने पनि बताइन्।
मन्त्री गौतमले सो कार्यको पहलकदमीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई धन्यवादसहित आभार पनि व्यक्त गरेकी छन्।



