मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ट्रान्सजेन्डर `पीटर´को कथा

`जब अनुजबाट पीटर बनें...´

`जब अनुजबाट पीटर बनें...´

images
२०८१ मंसिर ८ गते, शनिवार
२०८१ मंसिर ८ गते, शनिवार
  • काठमाडौं। नागरिकतामा अनुज । घरमा बोलाउने नाम अशोक । तर अहिले पीटर। उनी हुन् ट्रान्सजेन्डर महिला पीटर राई। जन्म पुरुष तर अहिले महिलाको स्वरुप, घर परिवार र समाजसँग नभएर सुरुदेखि आफैंसँग पहिचानको लडाईं लड्दै हिडेका अनुज अहिले पीटर बनेकी छन्।

    images

    खोटाङमा जन्म, काठमाडौंमा पढाइ त्यतिबेलाका स्कुले अनुजका लागि त्यो नै पीटर बन्ने एउटा बाटो बन्यो। छोराको अंग लिएर जन्मिए पनि स्वभाव र हाउभाउ छोरीको जस्तो भएकाले उनी सानैबाट परिवारमा फरक नै थिए।

    images

    ‘म परिवारको जेठो सन्तान, जन्मिंदा छोराको अंग लिएर जन्मिए पनि आफूलाई सानैदेखि छोरीको स्वभावमा उतार्थें, फुटबल भन्दा भाडाँकुटी खेल्ने रहर, छोरीकै पहिरन मन पराउँने, बाल्यकाल ललिअलि याद छ,’ ३७ वर्ष अघिको आफ्नो वाल्याअवस्था सम्झँदै अहिले आफूलाई पीटर भन्न रुचाउँने उनले सुनाइन्, ‘टीनएज हुँदै गएपछि फुपुहरु मलाई अशोक धेरै केटीसँग संगतले केटी जस्तै भयो भन्नुहुन्थ्यो,´उनले अघि भने,‘जब बाल्यकालबाट म टीनएजमा लागें, सायद ११ वर्ष जतिको थिएँ होला, अरु केटाहरु देख्दा जीउ सिरिङ्ग हुन्थ्यो, त्यसरी नै बाल्यकाल बित्यो।’

    काठमाडौंको धुम्बाराहीमा रहेको नीलहिरा समाजको केन्द्रीय कार्यालयमा २८ कार्तिकमा भेटिएकी उनले २०२१ मा मात्रै आफूले आफू के हुँ भन्ने जानकारी पाएको बताइन्।

    ‘अहिले म यो स्वरुपमा छु, यसै आज पीटर बनेको होइन, अंग एउटा तर चाहना अर्को हुँदा पहिले त आफैंसँग लडे..., त्यसपछि समाज र परिवारसँग..., धेरै समय म कोहुँ भन्ने मलाई नै थाहा भएन, यहाँ (नील हिरा समाज २०१२ तिर) आएपछि मात्रै म को हुँ भन्ने थाहा पाएँ, आफ्नो अंग र चाहनाको वास्तविकता बुँझे,’ उनले सुनाइन्।

    शिक्षित परिवारमा जन्मिएका त्यसबेलाका अनुजको स्कूले नाम अनुज राई र घरको नाम अशोक थियो। घरमा अशोक भनेर बोलाउने, स्कूलमा उनका साथीहरु पनि उनलाई कहिले अनुज त कहिले अशोक भन्ने गर्थे। फुपु र बहिनीहरुका बिचमा हुर्किएका उनलाई स्कूलमा आफ्नै बाबा ममीसमेत पढाउँने भएकाले असहज भएन।

    ‘म त फुपुहरुका बिचमा हुर्किएँ, बहिनी र भाईहरु पनि थिए, स्कूलमा बाबा प्रिन्सिपल र ममी पनि स्कुल पढाउँने भएकाले मलाइ सानोमा त असहज भएन, साथीभाईहरुले मलाई हेप्नै सक्दैनथे, हेड सर को छोरा म,’ विगत सम्झँदै हाँसोसहित उनले भनिन्।

    स्कूले जीवन (प्लस टु) सकेपछि त्यतिबेलाका अनुजलाई परिवारले काठमाडौंमा पढाउने निधो गर्यो। आफू भन्दा कान्छी बहिनी र भाईहरुकोसमेत रेखदेख उनको काँधमा आयो। काठमाडौंमा उनी अभिभावकीय जीम्मेवारीमा बाँधिए।

    ‘मलाई घरमा पनि विभेद् थिएन, हामी एकदमै नियममा हुर्किएका थियौं, स्कुल जानेदेखि, खाना खाने र बेलुकी टीभी हेर्नसम्म रुल्स थियो।’

    उनले पारिवारिक अवस्थासँगै आफूलाई जोड्दै लगिन्,‘बाबा शिक्षक भएकाले एउटै मात्रै कन्सेप्ट थियो पढ्नु पर्छ, मलाई स्कूल सकिएपछि बाबा ममीले ब्याच्लर्स पढाउँन काठमाडौं राख्नु भयो, मेरो जीम्मेवारी त्यसपछि थपियो।’

    केटा भएर केटा नै मन पराएँ

    त्यतिबेलासम्म अहिलेकी पीटर अनुज नै थिए। काठमाडौंमा कलेज जीवन थियो। भर्खरै कलेज पढ्न थालेकाले उत्साह पनि, नयाँ जोश पनि। त्यसबेलाका अनुज कलेज र बानेश्वरको डेरा आउजाउ गर्न थाले। कलेजमा साथी बने। साथीका साथीहरुसँग पनि चिनजान भयो। उनले अगाडी भनिन्, ‘त्यो बेला कलेजमा सबैका ब्वाइफ्रेण्ड थिए, म चाँही केटा भएर केटा नै मन पराउन थालेँ, मलाई त्यस बेलादेखि केटाहरुप्रति आकर्षण बढ्दै गएको थियो, स्वभाव महिलाको जस्तो भए पनि त्यो बेला म केटै थिएँ, केटा भएर केटा नै मन पराउन थालेछु ।’

    पीटरले त्यसपछि फेरी खोटाङ रहँदाका प्रसंगमा आफूलाई खुलाइन्, ‘त्यस बेला भूमिका श्रेष्ठले टीभीमा कार्यक्रम चलाउनु हुन्थ्यो, त्यो कार्यक्रम म लुकीलुकी हेर्थेँ, भुमिकालाई देख्दा मान्छे चाँही कति राम्री स्वर चाँही केटाको जस्तो भन्ने लाग्थ्यो, त्यही क्रममा म पढ्दै गर्दा काठमाडौं आएँ,’ उनको कथा फेरी काठमाडौंतर्फ नै मोडियो।

    ‘काठमाडौं आएपछि मैले भाईबहिनीलाई पढाउनु पर्ने थियो, म अभिभावककै रुपमा बस्नु पर्ने भयो, त्यो समय मैले आफूलाई टाइम दिन भ्याइन, व्याच्लर्सको पढाइ सकें।’ उनले भन्दै गइन् ‘त्यही दौरानमा मैले मास्टर्स पढ्न सुरु गरेँ, त्यो बेलासम्म पनि मैले म आफूलाई के हुँ भनेर चिन्न पाइन, त्यो समय नै मलाई प्राप्त भएन,’ उनी यसरी २०१५ अघि तिरै फर्किइन्।

    सुरुमा खुल्नै गाह्रो भयो

    आफैंलाई आफू के हुँ भन्ने जानकारी नभएको अवस्थाबाट आफैंसँग संघर्ष गर्नु परेको उनको कथाले फेरी उनलाई भावुक बनायो। हाल आफूलाई पीटरको नाम दिएकी उनले आफूलाई पुरुषबाट मनदेखि आएको महिलाको आफ्नो पहिचानमा उतार्न पाइला पाइलामा संघर्ष गर्नु परेको सुनाइन्।

    ‘जब मेरो बहिनीको विवाह भयो, भाईहरु बाहिर गए (भाईहरुको पेशा उनकै आग्रहमा गोप्य राखिएको), त्यसपछि म एक्लो हुन थालें, त्यो एक्लोपनले मलाई को मनपर्छ?, मेरो चाहना के हो? भन्ने थाहापाउन लागें, मेरो पहिलेदेखि नै फुपु र दिदीहरुसँग संगत थियो, केटाहरु दाजुभाईहरुसँग मेरो संगत भएन नै, उनीहरु मसँग साथीजस्तो पहिले देखि नै थिएनन्।’

    त्यसपछि उनलाई आफ्नो पहिचान खोज्नु पर्छ भन्ने लाग्न थाल्यो। समाजसँग कसरी खुल्ने भन्ने उनलाई डर पस्यो।

    ‘हामी घर बनाएर इमाडोल सर्यौ, त्यसै समयदेखि मलाई माया, आकर्षण र प्रेमका कुरा अलिबढी थाहा हुन लाग्यो, त्यसबेला म केटाको स्वरुपमा भए पनि केटी हुन चाहन्छु भन्ने लाग्दै गयो, तर मलाई कसरी खुल्ने भन्नेमा गाह्रो हुन लाग्यो,’ उनले भावुक हुँदै भनिन्।

    पहिलो प्रयास `फेक आइडी´

    `रुप एउटा चाहना अर्कै। चाहना अनुसार आफूलाई कसरी उतार्ने?´ उनलाई चिन्ता बढ्यो। त्यस समय भर्खरै फेसबुक आएको थियो। फेसबुक बारे त्यसबेलासम्मका अनुजलाई जानकारी भयो। आफूलाई केटी बनाउन उनले फेसबुकको साहरा लिए। फेसबुकमा फेक आइडी खोले र साथी बनाएर च्याट सुरु गरे।

    ‘त्यतिबेला फेसबुकमा फेक आइडी बनाउने चलन धेरै थियो, मिग थ्रीमा ब्याइज लभ ब्वाइज भन्ने ग्रुप पनि हुन्थ्यो, त्यहाँ गएर म बोल्थे, फेक फेसबुक बनाएर बोल्न त्यहीबाट सिकें, म त ब्याचलर पास गरिसकेको मान्छे, मास्टर्स पढ्दै थिएँ, एक जनासँग आफन्तमार्फत विवाहको कुरा आयो,’ उनले दंग पर्दै भनिन्।

    घरमा जेठो सन्तानका रुपमा जन्मिएको त्यसबखतको अनुजलाई विवाहको कुरा आउनु पनि अचम्म लागेन। तर विवाह गर्ने कुरामा भने उनको मन नै मानेन।

    ‘बाहिर रहेका आफन्तमार्फत एउटी महिलासँग इन्गेजमेन्ट गरिदिनु भयो, बाबा ममीले नभनी नै मैले आफन्तकै सल्लाहमा इन्गेजमेन्ट त गरेँ, तर उनी भएको ठाउँसम्म म आफैं जान सकिन, उनी यता नआउने म उता नजाने भएकाले विवाह रोकियो।’ उनले त्यसबखतको प्रसंग सुनाउँदै भनिन्।

    मनले आफ्नो वास्तविक पहिचानको खोजी गरिरहेका उनलाई बहुतै ठीक भए जस्तो लागेछ। ‘त्यसबेला मैले एक दुई जना गे साथी बनाइसकेको थिएँ, उहाँहरु विवाहित नै हुनुहुन्थ्यो, उहाँहरुको सुझाव मलाई विवाह गर्नु पर्छ भन्ने थियो।’ उनले भनिन्।

    प्रेमीकै नाम फेरेर `पीटर´

    समय फेरिंदै थियो, इन्टरनेटले फड्को मार्यो। अनुजले त्यसबेला चाइनाका एक जना व्यक्ति इन्टरनेटमार्फत नै भेटे। ‘पीटर’ नामका ती चाइनीजसँग उनको सम्वन्ध झाँगियो। अनुजको नजीकको साथी ती चाइनीज व्यक्ति पीटर भए।

    ‘मेरो चाइनाको पीटर भन्ने एक जना साथीसँग चिनजान भयो, उसँग म इन्टरनेटमार्फत एकदमै धेरै बोल्थे, उसँग मेरो लभ नै परे जस्तै भयो, म उसलाई एकदमै मन पराउँथे, उसँग बोल्न कुरा गर्न थालेपछि आफैंलाई के हुन्थ्यो के,’ उनले आफ्नो अनुभवबारे खुलाइन्।

    उनले ती चाइनीज पीटरलाई गरेको मायाँले कुनै सीमा नै बाँकी राखेन। तपाई साथी जस्तै भएर सबै कुरा आज गर्दै छु उनले आफ्ना प्रेम कथा खोल्दै भनिन्, ‘उ नेपाल नआउने म चाइना जान नसक्ने, उसँग इन्टरनेटबाटै लभ पर्यो, भेट्न पाइन, तर आफ्नो फस्टलभको नाम नै मैले आफ्नो नाम राख्दिएँ, त्यसबेलादेखि म अशोक, अनुजहुँदै पीटर भएँ।’ उनले आफू स्कूलको अनुज, घरको अशोक र पीटर भएपछिको अवस्था र प्रेमबारे खुलाउँदै भनिन्,‘अनी म पीटर भएँ।’

    केटासाथी भेटेपछि पहिलो ‘डेट’

    त्यसपछि आफूले फेरी पहिले जस्तै फेक आइडी चलाउँदै गएको उनले बताइन्। त्यही क्रममा आफूले एक जना केटा साथी भेटेको र आफू केटीका रुपमा उनीसँग भेट्न तयार भएको भन्दै उनले त्यस पललाई आँखामा उतार्दै भनिन्, ‘मैले फेरी फेक आइडी नै चलाउँदै गएँ, एक जना केटा साथी भेट भयो, वसन्तपुरमा उसँग डेट जाने कुरा भयो, मलाई खुसी पनि लाग्यो, असजह पनि भयो,’ आफू पहिलो पटक केटी बनेर कोही केटासँग भेट्न जान गरेको प्रयास थियो त्यो उनको, उनले बेलिविस्तार लगाइन्।

    ‘घरबाट कसरी निस्किने भन्ने तनाब त भइनै रह्यो, मैले १२ बजेको टाइम दिएको थिएँ, २ बजेतिर मात्रै उसँग भेट भयो, म उभन्दा केही पर नै बसेँ, सबैले मलाई नै हेरेजस्तो फिल भयो, आधा घण्टा जति उसँग कुराकानी भयो, त्यसपछि उ गयो,’ फेरी एकपटक बिदाई गरेजस्तै हात माथी उठाएर हल्लाउँदै पीटरले ती केटासाथीसँगको पहिलो भेटमा गरेको हाउभाउबारे खुल्दै भनिन्।

    त्यसपछि पीटरको नील हिरा समाजको हालकी अध्यक्ष पिंकी गुरुङ, समाजकै भुमिका श्रेष्ठ तथा सिम्रनसँग देखादेख भयो। त्यही दौरान पीटरका एक जना साथीको मिस्टर गे भाग लिने कुरा चल्यो। आयोजक ब्लुडायमण्ड सोसाइटी नै थियो।

    ‘उ एक्लै आउन नसक्ने, त्यही बेला म पनि बीडीएसमा जोडिएँ, त्यसपछि मेरो बीडीएसमा आउजाउ बढ्यो, म त्यहीं इन्टर्नका लागि काम गर्न लागें, २०१२/०१३ त्यतीबेला नै मैले गे, ट्रान्स भन्नेबारे बुझ्न थालें, त्यतिबेलासम्म म आफू गे हुँ भन्ने लाग्थ्यो,’ उनले सुनाइन्।

    ट्रान्स जेन्डर हुँ भन्ने आँट बढ्यो

    नील हीरा समाजमा इन्टर्न गर्दै गएपछि पीटरले आफूले घरमा आफ्नो वास्तविक पहिचान बुझेको र आफूले प्रष्ट रुपमा परिवारसँग खोलेर कुरा गर्न पटकपटक प्रयास गरेको बताइन्।

    ‘जब मैले आफू ट्रान्स जेन्डर हुँ भन्ने थाहा भयो, त्यसपछि घरमा भन्ने आँट गरे, पटकपटक कोसिस गरे पनि सकिन, मलाई बाबाममीलाई भन्न एकदमै गाह्रो भयो, त्यसअघि फुपु दिदी र बहिनीलाई भनिसकेको थिएँ, उनीहरुले मलाई बाहिरबाट कपडा पठाउँदा केटीकै कपडा पठाउन थालिसकेका थिए, बाबाममीलाई नभने पनि केटीले नै लगाउने लुगा ल्याइदिन थाल्नु भयो,’ दिदी बहिनीले नै बाबाममीलाई भनेको हुन सक्ने संकेत गर्दै उनले भनिन्,‘दिदी बहिनीले नै भनेको भएर होला, उहाँहरुले मलाई गर्ने व्यवहार फरक हुँदै गयो, छोरीकै व्यवहार गर्न थाल्नु भयो, मैले आफैंले मुखै खोलेर उहाँहरुसँग भन्न सकिन।’ उनले सुनाइन्।

    घरबाट निस्कँदा केटा, डेरामा पुगेर महिलाको पहिरन

    पीटरको काम नीलहीरा समाजमा चल्दै थियो। इमाडोल घरबाट आउजाउ गाह्रो भयो। त्यसमाथी पनि केटीको कपडा लगाएर अफिस जान उनलाई सहज भएन, केटाको कपडा लगाउन मन भएन। त्यसपछि उनले इमाडोल नबसेर लाजिम्पाटमा कोठा खोजिन्, घरबाट केटाको स्वरुपमा निस्किने, लाजिम्पाट पुगेर महिलाको पहिरनमा अफिस जाने उनको दैनिकी भयो।

    ‘केही दिन घरबाटै आउजाउ भयो, झोलामा कपडा हालेर कोठामा पुगेर महिलाको पहिरनमा आफुलाई चेन्ज गरेर अफिस जान थालेँ,’ उनले सुनाइन्।

    बाबाममी घरमा नहुँदा भने घरबाटै महिलाको पहिरनमा अफिस जाने गरेको उनले बताइन्।

    ‘उहाँहरु घरमा नहुँदाचाँही म घरबाटै महिलाको पहिरनमा अफिस आउन लागें, फेरी बाबाममी आएपछि म घरबाट केटाको लुगा लगाएर आएपनि लाजिम्पाट कोठामा पुगेर कपडा फेरेरै अफिस आउने गर्थे।’ उनले आफ्नो कथा सुनाउँदै गइन्।

    ‘त्यसपछि मलाई विवाहका लागि घरमै केटा मान्छेको कुरा आउन थाल्यो, एक जना दिदीकै आफन्तकहाँबाट फेरि बाहिरै (विदेश)बस्ने केटाको कुरा आयो, मैले त्यो केटा मान्छेसँग कुरा पनि गर्न थालेँ, मलाई केटी बनेर विवाह गर्न त्यसबेला एकदमै रहर जाग्यो। मलाई विवाह भन्ने कुरा एकदमै ठूलो कुरा हो भन्ने लाग्न थाल्यो, तर भिषा पाइन, म ट्रान्स भएकै कारणले मलाई भिषा दिइएन, विवाह भएर पनि म जान पाइउँदिन की भन्ने लाग्न थाल्यो। एउटा केटी हुनु र ट्रान्स हुनुमा असर पार्दो रहेछ भन्ने त्यसबेला बुझेँ। एउटा डकुमेण्टले पनि कति असर पार्दोरहेछ भन्ने त्यसबेला बुझेँ।’ उनले आफ्ना छेकिएका रहर खोतल्दै भनिन्।

    ३७ वर्षको उमेरमा घरमा खुलेँ

    यस वर्षको तिहार उनका लागि बाबाममीको अगाडी लक्ष्मी बन्न जुर्यो। बाबाममी घर बाहिरबाट फर्किदा घरका भित्तामा पीटरले राखेका आफ्नो महिला पहिरनको तस्वीरले बाबाममीको मन तानिसकेको रहेछ। ‘राम्री देखिएकी छौं, तिम्रो आइडेन्टीटी देखें’ भन्ने बाबाको वचनले पीटरलाई तिहारबाट बाबाममीका अगाडी छोरी स्वरुपमा खुलायो। उनले लक्ष्मी पूजाका दिन आफूलाई महिलाकै पहिरनमा बाबाममीका अगाडी उभ्याइन।

    ‘धेरैपटक कोसिस गरें सकिन, बाबाममी बाहिर गएका बेला घरको भित्तामा छोरी बनेको फोटो राखेको थिएँ, त्यो फोटो पहिलेपहिले झिक्दै राख्दै आएको थिएँ, तर यसपटक हटाइन,’ उनले भनिन्, ‘ओहो राम्री देखिएकी छौं’ बाबाको प्रतिक्रिया पाएको भन्दै उनले सुनाइन्।

    ‘मलाई ठूलो आँट आयो, छोरी बनेर आर्शिवाद मागेँ, पहिले छोरा भएर जन्मिएको अहिले छोरी भयौ, आँटेको सोचेको पुरा होस् भनेर आर्शिवाद दिनु भयो।’ उनले सुनाइन्।

    उनले आफ्नो पहिचान र स्वअनुभूतीले जितेको त्यो दिनलाई सम्झँदै भनिन्,‘त्यो दिन मेरा लागि विशेष दिन बन्यो, म घरमै पीटर भएँ, छोरी भएँ, ट्रान्स जेन्डर भएँ, मैले मेरो पहिचान पाएँ,’ उनले विजयउत्सवको झल्को दिने गरी सुनाउँदै गइन्।

    हर्मोन खाँदै, सर्जरीमा छैन रहर

    पीटरले २०२१ देखि नियमित हर्मोनको सेवन गर्दै आइरहेकी छिन्। ‘आफ्नो स्वरुपलाई परिवर्तन गर्न मैले हरेक दिन हर्मोन लिइरहेको छु, यो नखाए नशाहरु देखिने, अनुहार नरम नहुने हुन्छ, रेगुलर नै खाइरहेको छु।’ उनले भनिन्।

    आफूले शरीरमा लगाउन एउटा ‘जेल क्रीम’ पनि प्रयोग गर्ने गरेको उनले जानकारी दिइन्।

    ‘जेलले फिमेल हर्मोन बनाउन सहयोग गर्छ, बडीमा लगाउने गरेको छु, सर्जरी गर्ने मेरो प्लान छैन, रहर छैन।’ पीटर भन्छिन्।

    बेहुली बन्ने रहर

    पीटरलाई अहिले बेहुली बन्न रहर लागेको छ। पहिले आफ्नो पहिचानको खोजिको लडाइँमा रहेकी उनलाई अहिले विवाह गर्न मन छ।

    ‘मलाई बाबाले विवाह गर्ने प्लान के छ भनेर सोध्ने गर्नु हुन्छ, लाइफमा एक्लै होलिउ विचार गर भन्दै आउनु भएको छ, कसैलाई ज्वाइँँ बनाएर लगेँ भने स्वीकार्नु हुन्छ, अहिलेसम्म एक्लै छु, ४० वर्षसम्ममा विवाह गर्छु भन्ने छ, बेहुली बन्ने मन छ,’ उनले रहर खोल्दै भनिन्।

    श्रीमानमार्फत सर्जरीको अपेक्षा भएमा भने आफूले विवाहपछि सोच्न सक्ने बताउँदै उनले भनिन्, ‘पर्फेक्ट हाउस वाइफ, पर्फेक्ट बुहारी भएर उसको घरमा रहन्छु, श्रीमान्लाई कम्फर्टेवल भएन र तिमी सर्जरी गर भन्ने सुझाव आयो भयो म त्यसका लागि पनि तयार हुनेछु, तर श्रीमानलाई र परिवारलाई तेरो बुहारी यस्तो भन्ने कुरामा उहाँहरुले स्ट्याण्ड लिन सक्नुपर्छ, म हरेक कुरामा कम्परमाइज गर्न तयार छु।’ उनले भनिन्।

    समूदायका व्यक्तिलाई अझै खुल्न असहज

    आजको आजै यो समूदायका व्यक्तिले आफूलाई समाजमा खुलाउन नसक्ने उनी बताउँछिन्। पहिले आफूले आफूलाई बुझ्नु पर्ने भन्दै उनले त्यसपछि मात्रै समाज र परिवारमा आफ्नो पहिचानका लागि लड्न सकिने आफ्नो अनुभवले सिकाएको उनले बताइन्।

    ‘म पल्यिैदेखि फरक थिएँ, पहिलेदेखि नै भाँडाकुटी खेल्ने, भाडा माझ्न मन लाग्ने, फुटबलमा मन नै नजाने मेरो सानैदेखिको स्वभाव थियो, बाबालाई मैले त्यसपछि यी सब कुराहरु स्मरण गराएँ।’ उनले आफ्नो पहिचान पाएपछि बाबासँगको संवादलाई उल्लेख गर्दै भनिन्।

    पीटरले आफ्नो पहिचानलाई अरुले स्वीकार्ने गरेर आफ्नो व्यवहार देखाउनु पर्ने र त्यसका लागि समुदायका व्यक्तिहरु पनि परिवर्तन हुन जरुरी रहेको बताइन्। ‘अब कन्सेप्टलाई अलिकति चेन्ज गर्नु पर्ने बेला आइसकेको छ।’ उनले भनिन्।

    आजको भोली नै खुल्ने अवस्था भए जीवनमा धेरै गाह्रो हुन सक्छ। उनले भनिन्, ‘हामी यस्तो युद्धमा छौं, जहाँ समाज, राष्ट्र, परिवार र हरेक छिमेकीसँग युद्ध लडिरहनु परेको छ, कतिसम्म सोसाइटीले पचाउँछ भन्ने कुरालाई हामीले ख्याल गर्नु पर्छ।’

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend