काठमाडौं। आज काठमाडौंका तीन विभिन्न स्थानमा सडक प्रदर्शन आयोजना भएको छ। सत्तामा रहेको प्रमुख दल नेकपा एमालेले दरवारमार्गमा प्रदर्शनसहित जागरण सभा गर्दै छ।
माइतीघर मण्डलामा सहकारी पीडितको प्रदर्शन आयोजना गरिएको छ भने प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरिरगेको छ।
प्रदर्शन स्थल र र्यालीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। दरवारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओली आफै जाने भएपछि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।
प्रदर्शनको क्रममा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ४ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए।
यस्तै सुरक्षाको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरे आफैंले गर्दै छन। प्रदर्शन स्थलको सुरक्षाका लागि तालिमप्राप्त कुकुर र सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ।
प्रसाईं नेतृत्वको समुहले अभियन्ता प्रसाईंलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गर्न लागेको बताएको छ।
एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा सभा गर्न लागेको हो। सभालाई दिउँसो एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ।सभाका लागि काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउनले एमालेले जनाएको छ।
माइतीघरमा सहकारी पीडितको प्रदर्शन भने नियमित जस्तै हुँदै आइरहेको छ। उनीहरुले बचत रकम फिर्ताको माग गर्दै आन्दोलन गर्दै आइरहेका छन।
ट्राफिक प्रहरीले एमालेको सभा हुने स्थान दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको छ। दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यस्तै कोटेश्वर क्षेत्रको सवारी आवागमनमासमेत असहज अवस्था हुन सक्ने भदै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।



