काठमाडौं। मन्त्रिपरिषद बैठकले पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्री परिषद बैठकले हाल १५ शय्यामा रहेको पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको हो।
मन्त्री परिषद बैठक पछि सरकारका एक मन्त्रीले सो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय भएको जानकारी दिए।
`हाल १५ शय्यामा रहेको पर्सा जिल्लाको पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय भएको छ,´ ती मन्त्रीले एक्सरे नेपालसँग भने।
पर्साको बिरगंज भन्दा पुरानो सदरमुकाम पोखरिया हो। पोखरियाका स्थानीयले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा प्रदीप यादव हुँदा नै उनलाई भेटेर अस्पताल स्तरोन्नति गर्न आग्रह गरेका थिए। तर हालका मन्त्री पदीप पौडेलले अस्पताललाई स्तरोन्नति गर्ने निर्णय मन्त्रीपरिषदबाट गराएका हुन।
पोखरिया नगरपालिकामा १५ शय्यामा सञ्चालित पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी मधेस प्रदेश सरकारको मातहतमा व्यवस्थापन गर्ने मधेस प्रदेश सरकारले २०७६ चैत २८ गते नै निर्णय गरेको थियो।



