काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन्।
अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम एयरलाइन्सले आज मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन्।
एघार एयरलाइन्सले भाडादरसहितको सूची बुझाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछाने जानकारी दिए।
विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन्।
नेपाल एयरलाइन्समा साँढें २ देखि ५ हजारसम्म छुट
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम रु २ हजार पाँचसयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ।
काठमाडौँबाट भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर सेक्टरका लागि बजार भाडादरमा रु २ हजार ५ सयसम्म छुट दिइनेछ भने कतारको दोहा युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा पाँच हजारसम्म दिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हवाईभाडादर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशन बमोजिम राष्ट्रिय दायित्व निर्बाह गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरुको भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ।
हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए।
यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हवाईभाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्रीले एयरलाइन्सहरुले नागरिकको मर्का बुझिदिन अनुरोध गरेका थिए।
निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही नोभेम्बर १ देखि २२ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ।



