मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारी छैन : स्वास्थ्य मन्त्रालय

विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारी छैन : स्वास्थ्य मन्त्रालय

images
२०८१ आश्विन १९ गते, शनिवार
२०८१ आश्विन १९ गते, शनिवार
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका कुनै पनि ठाउँमा विपद्पश्चात् महामारीजन्य रोग नफैलिएको जनाएको छ।

    images

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शनिबारसम्म देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारी मन्त्रालयमा नआएको बताएका हुन्।

    images

    ‘हामीले पखालालगायत हैजा जस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई सङ्क्रमण भएको देखिए जानकारी गराउन भनेका छौं, हालसम्म त्यस्तो खबर आएको छैन ।’ बुढाथोलीले भने।

    अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ। विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता डा. बुढाथोकीको भनाइ छ।

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले विपद्पश्चात् एकै पटक महामारीजन्य रोग फैलिएर हालसम्म कोही पनि बिरामी नआएको बताए।

    ‘विपद्पश्चात् महामारीजन्य रोगबाट सङ्क्रमित बिरामीहरू यहाँ आउनुभएको छैन, यद्यपि महामारीजन्य रोग बढ्न सक्नेतर्फ सचेत रहँदै उपचारका लागि तयारीमा रहेका छौं’, उनले भने, ‘विपद्पछि पानीजन्य तथा कीटजन्य रोगहरू बढ्ने हुन्छ, खानेपानीको स्रोत दूषित हुँदा पखाला, हेपाटाइटिस र स्क्रब टाइफसको सङ्क्रमण हुने सम्भावना रहन्छ, त्यसकारण यस्तो बेला उच्च सतर्कता आवश्यक हुन्छ।’

    लामखुट्टेको टोकाइ, सर्पदंशको घटना पनि बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानेपानीको शुद्धता ख्याल गरेर प्रयोग गर्ने, तरकारीलगायत फलफूलहरू राम्ररी सफा गरेरमात्र प्रयोग गर्नेबारे सबैले ध्यान दिनुपर्नेमा डा. चालिसेको जोड छ।

    हाल स्वास्थ्य मन्त्रालयले विपद् प्रभावित, घाइतेहरू र जनघनत्व बढी भएका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाएको छ। धेरै ठाउँमा स्वास्थ्य संस्थाहरू आंशिक तथा पूर्ण रुपमा क्षति भएकाले टेन्ट राखेर भए पनि उपचार दिइरहेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।

    उनले भने, ‘मन्त्रालयले पालिका तथा प्रादेशिक तहसँग मिलेर विभिन्न ठाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेका छौं, जनघनत्व तथा बढी विपद् प्रभावित क्षेत्र काभ्रे, सिन्धुली, पनौतीमा शिविर सञ्चालन भइरहेका छन्।’

    डा. बुढाथोकीले महामारीजन्य रोगहरू सम्भाव्य जोखिम आकलन गरी सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यी रोगबारे जानकारी दिएर सोहीअनुसार सावधानी अपनाएर उपचार र जनचेतना फैलाउन भनिएको बताए। विपद् प्रभावित क्षेत्रबाट करिब छ सय जनाले बहिरङ्ग उपचार सेवा लिएकोसमेत उनले जानकारी दिए।

    ‘उपचार गराउनुपर्ने घाइतेहरू अझै बढ्ने देखिन्छ, धेरैलाई निःशुल्क उपचार भइरहेको जानकारी नहुन पनि सक्छ, त्यसैले पनि हाल धेरै जना स्वास्थ्य संस्थासम्म आउन सकेका छैनन्, स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन्, उपचारबारे थाहा हुनेले चिनेजानेकालाई जानकारी गराउन सक्नुहुन्छ।’ उनले भने।

    मन्त्रालयले विपद्बाट घाइतेहरुको निःशुल्क उपचार हुने बताएको छ। आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नं ‘१११५’ मा सम्पर्क गर्न सक्नेछन्।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend