काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाका प्रमुख उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन।
द्विवेदीलाई नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिह्न सहित नेपाली सेनाको खड्ग प्रदान गरेका हुन। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच द्विवेदीलाई सो सम्मान प्रदान गरिएको हो।
सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उनी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार नेपाल भ्रमणमा आएका थिए।
नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।



