काठमाडौं।नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा तथा जनमत पार्टीसहितका ८ दलका नेताहरु कम्बोडिया गएका छन। नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ।
सामाजिक संजालहरुमा एमाले नेता डा. राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन। ती चासोहरुमा दुर्गा प्रसाईंले उठाएको विषय पनि जोडिएको छ। तर कम्बोडियामा कार्यक्रम भने अर्कै छ।
सो चासोपछि एमाले नेता भट्टराईले सामाजिक संजालमार्फत कम्बोडिया यात्राबारे बताएका छन। उनले आफू पार्टीको स्थायी समितिको सदस्यको हैसियतले कम्बोडियामा हुने आइक्यापको १२ औं अधिवेशनमा भाग लिन त्यसतर्फ गएको उनले लेखेका छन्।
उनले सो कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएकोसमेत उल्लेख गरेका छन्।
‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस्। कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन्। थप केही भन्नुपर्छ ?’
एमालेबाट पुर्वमन्त्री रघुबीर महाँसेठ पनि कम्बोडिया पुगेका छन।
कम्बोडियाबाट कांग्रेस नेतृ सुजाता कोइरालाले आफुसहित एमाले नेता भट्टराई र महासेठ कम्बोडिया पुगेको जानकारी दिइन। उनले अन्य केही राजनीतिक दलका नेताहरु पनि कम्बोडिया आउने जानकारी भएको बताइन।
कोइरालाले सामाजिक संजाल फेसबुकमार्फतसमेत कम्बोडिया यात्रा बारे बताएकी छन।
एसियाका राजनीतिक दलहरुको १२औं अन्तरास्ट्रिय सम्मेलनमा भाग लिन आफु कम्बोडिया गएको उनले सो भिडियोमा भनेकी छन। उनले कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक संजालका राम्रा र नराम्रा दुबै पक्षमा छलफल हुने बताएकी छन।
`म मेरो मातृभुमीलाई संसारसित जोडेर त्यहाँ मेरा कुरा राख्ने छु´ उनले आफ्नो भिडियो सन्देशमा भनेकी छन।
कार्यक्रममा सहभागी हुन राप्रपाका नेता उद्दब पौडेलसहित नेता केदारबहादुर अधिकारी कम्बोडिया गएका छन। यसैगरी कांग्रेस नेता दिब्यमणीराज भण्डारी पनि कम्बोडिया पुगेका छन। अन्य नेताहरू आज साँझसम्म कम्बोडिया पुग्ने बताइएको छ।
एमाले नेता भट्टराईले कम्बोडियाबाटै दिएको जानकारी अनुसार माओवादी केन्द्रबाट पुर्व सभामुखसमेत रहेका नेता अग्निप्रसाद सापकोटाको नाम कार्यक्रमको विवरणमा छ। यस्तै सो दलबाट गोकर्णप्रसाद भट्ट पनि आगन्तुकको सुचीमा छन।
यसैगरी नेकपा एकीकृत समाजवादीबाट डा शंकर प्रसाद खतिवडा र वीरबहादुर तामाङको नाम छ। यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत र परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम समेत सहभागीको सुचिमा छ। यस्तै जसपाबाट भरत गुरुङको नाम समावेस छ। उनीहरु केही आज कम्बोडिया पुग्दै छन।
कम्बोडियामा हुने कार्यक्रमको आज साँझ उद्घाटन हुने कार्यतालिका छ। उद्घाटन पछि डीनर आयोजना गरिएको छ भने भोलि विभिन्न चार सत्रमा मुख्य विषयमा छलफल हुनेछ।
कार्यक्रममा भोली शुक्रबार चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ। मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयास बारे एउटा सत्रमा छलफल हुनेछ।
यस्तै संस्कृति, विविधता र डाइभर्सिटीका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ। यस्तै फेक न्युज तथा सामाजिक संजालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समुहगत छलफल हुनेछ।
कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरु सहभागी भएका छन। प्राप्त सुचना अनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन। अन्य दलबाट भने सहभागी छन।
एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाटसमेत विभिन्न राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागी हुन पुगेका छन। कांग्रेस नेतृ कोइरालाले कार्यक्रमसकेर २४ नोभेम्बरमा स्वदेश फर्किने तालिका रहेको बताइन।
आफुलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने भ्रमपुर्ण हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक संजालमा चासो देखिएको थियो। प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन।




