काठमाडौँ। प्रतिनिधि सभा सदस्य रुकेश रन्जितले सरकारले बजारमा विक्री हुने सामानमा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) लगाउने विषय जायज भएपनि कुन हदसम्म लगाउने भन्ने प्रश्नको विषय बनेको बताएका छन्।
नेपाल मोबाइल ब्यवसायी महासंघको ५औं स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमआरपी कार्यान्वयनमा आउँदा मोबाइलको अवैध कारोबार `ग्रे मार्केट´ नियन्त्रणमा आउने बताए।
`बजारमा विक्री हुने सामानमा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) लगाउने विषय जायज छ, तर कुन सामानमा कुन हदसम्म एमआरपी लगाउने भन्ने प्रश्नको विषय बनेको छ, एमआरपी लागू भएको अवस्थामा मात्र मोबाइलको ग्रे मार्केट रोकिन्छ।´ उनले भने।
उनले `ग्रे मोबाइल´ ले गर्दा मोबाइल ब्यवसायीहरुले कानुनी उल्झन ब्यहोर्नु परिरहेको बताउँदै ब्यवसायीहरु सोही कारण पटकपटक प्रहरीकोमा बयान दिन जानू पर्ने अवस्था देखिएको बताए।
उनले ब्यवसायीले मोबाइल मर्मत र लकअनलक गर्दा पनि प्रहरी प्रसासनको ज्यादती भोग्दै आएको उल्लेख गर्दै ब्यवसायीले लगानी गरेर पनि ढुक्क हुने अवस्था बन्न नसकेको बताए।
`मोबाइल खरिद गर्दा पनि स्वघोषणा गर्ने, बिक्री गर्दा पनि निश्चित मापदण्ड अपनाएर विक्री गर्ने अवस्था बनाइनु आवश्यक छ, जसले ब्यवसाय, ब्यवसायी र उपभोक्ता सुरक्षित हुने अवस्था बन्न सक्छ।´ सांसद रन्जितले भने।
सांसद रन्जितले बजारमा नयाँनयाँ मोबाइलको विक्रीमार्फत नयाँनयाँ प्रविधि उपभोक्तामाझ पुग्दै गर्दा पुराना मोबाइल पनि ब्यवसायीहरुसँग थुप्रेर बसेको उल्लेख गरे।
पुर्व मोबाइल ब्यवसायीसमेत रहेका सांसद रंजितले मोबाइल ब्यवसाय सबैभन्दा कम मार्जिन प्राप्त हुने ब्यवसाय रहेको बताउँदै यसलाई दिगो कसरी बनाउने भन्ने चुनौती रहेकोसमेत बताए।
उपभोक्ताको हित संरक्षण गरेर तथा ब्यवसायीको पनि हित हुने गरेर सरकारले नीति बनाउनु पर्ने त्यसका लागि आफू ब्यवसायीको प्रतिनिधित्व संसदमा गरेर आवाज उठाउने उनको भनाइ थियो।



