काठमाडौं। तपाईं औसधि पसलमा औसधि बेच्ने काम गर्नु हुन्छ? यदी गर्नुहुन्छ भने अब तपाईंले आफ्नो नाम, पद र परिषद् दर्ता नम्बर प्रष्ट देखिने गरेर नेमप्लेट सहित सेतो एप्रोन लगाउनु पर्नेछ। यो ब्यवस्था पुस ४ देखि लागुहुनेछ।
नेपाल फार्मेसी परिषद्ले ४ मंसिरको बैठकको निर्णय अनुसार फर्मासिस्ट र फार्मेसी सहायकलाई नेमप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको हो। परिषद्ले सो ब्यवस्थाबारे बुधबार एक सूचना जारी गर्दै जानकारी गराएको छ।
‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याग सहितको सेतो एप्रोन लगाएर मात्र डिस्पेन्सिङ गर्नुपर्नेछ,’ परिषद्ले जारी गरेको सूचनामा भनिएको छ, ‘फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लंघन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिनेछ।’
फर्मासिस्टले सेतो एप्रोनको हरियो ब्याकग्राउन्ड र सहायकले निलो ब्याकग्राउन्डमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित भएको एप्रोन प्रयोग गर्नुपर्ने परिषद्ले सुचना प्रकाशित गर्दै भनेको छ।
फार्मेसी ऐन कार्यान्वयन गर्न नेपाल फार्मेसी परिषद्ले यस्तो निर्णय गरेको बताइएको छ। परिषदले सो ब्यवस्था पालना भए नभएको अनुगमन हुनेसमेत जनाएको छ। पालना नगरेको पाइएमा भने परिषद्को नियमावली २०५९ परिच्छेद ३ को २ बमोजिम कारबाही हुने स्पष्ट पारेको छ।
औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले औषधि चिकित्सकको सल्लाहबमोजिम बिक्रि वितरण गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले गर्नु पर्नेछ। फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा पनि उपस्थिति भने अनिवार्य गरिएको छ।



