काठमाडौं। सहकारी ठगीको आरोपमा पक्रौ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमासमेत मुछिएका उनलाई प्रहरीले मंगलबार साँझ काठमाडौं ल्याएको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि बयानका लागि पोखराबाट उनलाई विमानमार्फत ल्याइएको परिसरका एक अधिकृतले जानकारी दिए। जोशीसँग आज बुधबारबाट काठमाडौं प्रहरीले बयान लिनेछ।
प्रहरीले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पूर्जी जारी भएपछि अर्का आरोपी कुमार रम्तेललाईसमेत पोखराबाट काठमाडौं ल्याएर बयान लिइसकेको छ। गत शनिबार ल्याएका उनलाई मंगलबार पोखरा पठाइएको थियो। प्रहरीले पुर्व गृहमन्त्री तथा रास्वपाका सभापति रबी लामिछानेलाई पनि काठमाडौं ल्याउदै छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लमिछाने विरुद्धसमेत काठमाडौं प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ। जोशीको बयानपछि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने प्रहरी तयारी छ। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
स्वर्णलक्ष्मी सहकारीका ६४५ बचतकर्ताले जाहेरी दिएपछि प्रहरीले सो सहकारीबारे अनुसन्धान अगाडी बढाएको थियो। कालिमाटी प्रहरी बृत्तले सुरु गरेको सो मुद्दाको हाल जिल्ला प्रहरी परिसरलेसमेत अनुसन्धान गरिरहेको छ।
लामिछाने र जोशीविरुद्ध आइतबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएको थियो।
जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए भने लामिछाने २ कात्तिकमा आफ्नै पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए।
उनीहरुमाथि पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान भइरहेको छ।



