काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले शान्ति प्रक्रियामा सामेल दलहरु एक भएरै बाँकी प्रक्रियालाई टुंगुमा पुर्याउनु पर्ने बताएका छन।
मंगलबार त्रिभुवन विश्वविद्यालय द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले काठमाडौंमा गरेको `शान्ति प्रक्रिया विगत र वर्तमान´ अन्तर्क्रियालाई सम्बोधन गर्दै नेता सिटौलाले शान्ति प्रक्रियालाई पूर्णता दिन त्यसबेलाका दलहरुबाट विश्वासको संकट हट्नु पर्ने बताए ।
`त्यसबेला सातदलको तर्फबाट गिरिजाबाबुले र माओवादीका तर्फबाट प्रचण्डजीले हस्ताक्षर गर्नुभएको थियो, त्यसबेला यी दुई शक्तिबीचमा उच्च तहको विश्वास थियो, अहिले सात दलको हिस्सा कांग्रेस र एमालेसँग छ, टुटफूट भएर छरिए पनि माओवादीको हिस्सा नेकपा माओवादी केन्द्रसँग छ, मुख्य दल मिलेरै शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनु पर्छ,´ नेता सिटौलाले भने।
सिटौलाले दलहरुका बिचमा विश्वासको संकत रहेको भन्दै शान्ति प्रक्रियासँग जोडिएका मुलभुत विषयमा दलहरु एक भएर अघि बढ्नु पर्ने बताए।
`मुल दलहरुका बिचमा विश्वासको संकट छ, शान्ति प्रक्रियाको मुलभुत बिषयमा दलहरु एक भएर मिलेरै अघि बढ्नु पर्छ, नभए द्वन्द्व पीडितले झन दु:ख पौने कुरा निश्चित छ,´ सिटौलाले अघि भने।
उनले दलीय स्वार्थ भन्दा माथी उठेर राजनीतिक दल तथा दलका नेताहरुले काम गर्नु पर्ने समेत बताए।
`राजनीति दलहरु दल भन्दा माथी उठन सकेका छैनन, दलका नेताहरु दलीय स्वार्थ भन्दा माथी उठ्न सकेका छैनन, निश्वार्थ भावनाले दलहरुले केही न केही कम्परमाइज गरेरै फ्लेक्जिबिलिटीका साथ अघि बढ्नु पर्छ,´ उनले भने।
सिटौलाले लोकतन्त्र, गणतन्त्र र शान्तीको आधारशिला अहिलेको संविधान रहेकाले अझै धेरै काम बाँकी रहेको र ती काम पूरा भए मात्र कन्फ्लिक्ट को म्यानेजमेन्ट हुने बताए।
कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले द्वन्द्वकाे सही व्यवस्थापन हुन नसकेको भन्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सबै एक हुनुपर्ने बताए।
उनले जनताका अधिकारलाई संविधानमा संस्थागत गरिएकाे भन्दै १८ वर्षसम्म द्वन्द्वका पीडितहरुलाई न्याय दिनेकाम हुन नसकेकोमा भने सबै जिम्मेवार भएर अघि बढ्नु पर्नेमा जोड दिए।
शर्माले राजनीतिक दलका नेताहरुबीच एकले अर्कोलाई छक्याउने र झुक्याउने मात्र सोच र प्रवृति देखिएकाले त्यो घातक हुने बताए।
‘नेतृत्वले एकले अर्कालाई छक्याउने, झुक्याउने, कसरी हुन्छ आफ्नो हातमा सत्ता राखिराख्ने खालको सोच, प्रवृत्ति र संस्कृतिको विकास भएको छ, यो धेरै हानिकारक छ,यस्तै भयो भने फेरी द्वन्द्व हुन्छ, त्यो सम्हाल्न सकिँदैन।’ शर्माले भने।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकप एमालेका नेता प्रदीप ज्ञवालीले देशमा राजनीतिक मुद्दाहरु एकातिर भएपनि द्वन्द्वका सम्भाव्य कारणहरुकाे निवारण गर्न सबै एक हुनु पर्ने बताए। सेना समायाेजनको प्रक्रिया टुंगोमा पुग्नु ऐतिहासिक कदम भएको उल्लेख गर्दै उनले अब अब पीडितहरुलाई न्याय तथा क्षतिपुर्तीको कामसमेत टुंगाउनु पर्नेमा जोड दिए।
`सेना समायोजनलाई सफलतापुर्क अगाडि बढाएका छाै, अब पीडितहरुलाई क्षतिपुर्ती दिने र पीडीतलाई न्याय दिने विषय बाँकी छन्, यसलाई पनि टुंगोमा पुर्याउन दलहरूले भुमिका निर्वाह गर्नु पर्छ,´ ज्ञवालीले भने।
उनले १४ सय ब्यक्ति अझै बेपत्ता अवस्थामा रहेको भन्दै अहिले पनि पीडादायी अवस्था रहेको बताए।
`१४ सय ब्यक्ति अझै बेपत्ता अवस्थामा छन,अहिले पनि पीडादायी अवस्था छ, न्याय पाउन यति ढिला हुनु हुँदैन थियो।´
उनले दाेहाेराे भिडिन्त बाहेकका घटनामा उन्मुक्ति दिन नहुने भन्दै हिंसाकाे अनुपस्थिति मात्रै शान्तिकाे स्थिति नहुने भएकाले गुनासाे गर्ने स्थिति दिनु नहुने कुरामा जोड दिनु पर्ने बताए।
`दाेहाेराे भिडिन्त बाहेकका घटनामा उन्मुक्ति दिन हुँदैन, हिंसाकाे अनुपस्थिति मात्रै शान्तिकाे स्थिति होइन, गुनासाे गर्ने स्थिति दिनु हुँदैन।´ ज्ञवालीले भने।
कार्यक्रममा आयाेजक संस्थाका संयाेजक डा. पिताम्बर भण्डारीले द्वन्द्वको अवस्थाको अन्त्यका लागि दलहरुले नै निकास दिनु पर्ने बताए।



