काठमाडौं। सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गर्यो। उनको निधन हिजो आइतबार नै भएको थियो। बिदा दिने निर्णय भने आज कार्यालय खुलेपछि भयो।
धेरै सरकारी तथा सार्वजनिक बिदाका दिनमा कार्यालय बिदा हुने कर्मचारीहरुले कार्यालय पुगेपछि मात्रै बिदाको जानकारी पाए। केही कर्मचारीले त सामाजिक संजालमा नै कार्यालय पुगेपछि बिदा बारे जानकारी पाएको लेखेका छन।
`सार्वजनिक बिदा पनि अफिस आईसकेपछि थाहा पाउने पाउँने म मात्रै हो??´ एक सरकारी कर्मचारीले लेखेका छन।
यसैगरी अर्का एक सरकारी कर्मचारीले अफिस पुगेर बिदा भएको जानकारी भएपछि घाम तापेर बसेको भनेका छन।
`सुनसान छ, सरकारले सार्वजनिक बिदा दिएछ, अफिस आएपछि थाहा भयो, घाम तापेर बस्न पाईयो।´
एक नीजी बैंकमा कार्यरत कर्मचारीले पनि कार्यालय पुगेपछि बिदाबारे हल्ला सुनेको बताए।
`अफिस आएपछि बिदा भनेको सुनियो, सबै साथीहरु अलमलमा छौ, सुचना त आएको छैन, के हो के हो,´ ती बैंकका कर्मचारीले भने।
आज बिहान बसेको मन्त्री परिषद बैठकले पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मन्त्री परिषद बैठक सकिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिदा बारे जानकारी दिएका थिए।
तर सरकारले लिखित रुपमा बिदाबारे जानकारी नदिंदा अझै अन्योल छ। गृह मन्त्रालयका एक कर्मचारीले `मन्त्री परिषदबाट ढिला गरि बिदा घोषणा भएकाले सुचना आउदै होला´ भन्ने जानकारी मात्रै दिए।



