काठमाडौं। सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रीपरिषद बैठकले पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
मन्त्रिपरिषद्को बैठकबाट उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत भएको संचारमन्त्री गुरुङले जानकारी दिए।
यस्तै, देशका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगमासमेत राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ।
बैठकले ढुंगानाको निधनमा सरकारका तर्फबाट गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरिएको संचारमन्त्री गुरुङले जानकारी दिए।
ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उनी केही समययता अस्वस्थ थिए भने पुरानोबानेश्वरस्थित फ्रन्टलाईन अस्पतालमा उनको उपचार हुँदै आएको थियो।
काठमाडौंको पशुपति आर्यघाटमा आजै ढुंगानाको अन्त्येष्टि गरिनेछ। अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका निम्ति ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिनेछ।



