काठमाडौँ। अर्थ मन्त्रालयले वीवाइडीको इभी गाडी भन्सार छली प्रकरणमा मुछिएका ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेको छ।
रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा त्यहा कार्यरत प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गर्दै भन्सार विभाग तानिएको हो।
वजेट घोषणा हुने केही दिन अघि रसुवागढी भन्सार नाकाबाट विद्युतीय कारको भन्सार जाँचपास भएको भन्दै सो सम्बन्धमा छानबिन भइरहेको छ।
यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा छानबिन प्रक्रिया अगाडि बढाईसकेको अर्थ मन्त्रालयले जनाएको छ।
छानबिन समिति भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा गठन भएको थियो।
समितिमा अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्धयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली सम्बन्धित भन्सार नाकामा नै खटिएका छन्।
प्रारम्भिक रुपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
सो प्रकरणमा अर्थमन्त्री स्वर्णिम वाग्लेकोसमेत नाम जोडिएको थियो। अर्थमन्त्रीका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले अर्थमन्त्री वाग्लेलाई जोडेर भएका टिकाटिप्पणीप्रति खेद प्रकट गर्दै सो प्रकरणमा अर्थमन्त्रीको नाम जोडिनु अफवाह र चरित्र हत्या भएको बताए।
`छानबिन चलिरहेकै बेला माननीय अर्थमन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गराइदिने,बजेटलाई विवादमा पारिदिने जस्ता उद्देश्य बोकेर भएका प्रचारबाजी तथा मिडिया ट्रायलप्रति गम्भिर ध्यानाकर्षण भएको छ।´ अर्थमन्त्रीका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार ढुंगानाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।



