काठमाडौं। आगामी १६ मंसिरमा हुनए स्थानीय तहको ४४ पदको उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ।
आयोगले विविध कारणले रिक्त बनेका जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरि कुल ४४ पदमा जनप्रतिनिधि चयन गर्न उपनिर्वाचन गराउँदै छ। त्यसका लागि आज आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको हो।
निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले कुल ४४ पदका लागि हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिइन। उनका अनुसार उपनिर्वाचनका लागि ६६ जना महिला, ३४२ जना पुरुष र अन्य २ जना उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ।
आयोगका अनुसार कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखका लागि २ जना महिलाको उम्मेदवारी परेको छ। ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराईको एकल उम्मेदवारी परेको छ। जिससको प्रमुखका लागि यीनै दुई जिल्लामा निर्वाचन हुँदैछ।
यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ८ पदका लागि ३५ महिला र ४८ पुरूषगरी ८४ जनाको उम्मेदवारी परेको आयोगकी प्रवक्ता पोखरेलले जानकारी दिइन।
त्यस्तै, गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ जना महिला, २९३ पुरुष र १ अन्य गरी ३२३ जनाको उम्मेदवारी दर्ता भएको छ।
आयोगका अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जनाको उम्मेदवारी दर्ता भएको छ। यस्तै सबैभन्दा कम रूकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३/३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।



