काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डाक्टर सरोज शर्मालाई दिएका छन।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखसमेत रहेका शर्मालाई मन्त्री पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन।
निर्णय अनुसार अब मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त नगर्दा सम्म उनले आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्ने छन। डा शर्माले थप जिम्मेवारीको पत्र पाइसकेका छन्।
डा शर्माले आफूले थप जिम्मेवारी पाएको जानकारी दिँदै प्राप्त जिम्मेवारी अनुसार काम गर्ने जानकारी दिए।
`मलाई जुन विश्वास गरेर थप जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्छु,´ उनले भने।
बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल सकिएपछि मन्त्री पौडेलले शर्मालाई रोजेका हुन। बसौलाको कार्यकाल गत आइतबार सकिएको थियो। शर्मा स्वास्थ्य संस्थालाई ब्यवस्थापन गर्नमा अनुभवी मानिन्छन।
डा शर्मा नेपाल रेडियोलोजिष्ट एसोसिएसनको अध्यक्षसमेत हुन। उनी (२०८०–०८२) का लागि एसोसिएसनको अध्यक्षमा निर्विरोध भएका थिए। उनी वीर अस्पतालमा रेडियोजी बिभागमा प्रमुख परामर्शदाता रेडियोलोजिस्टका रुपमा लामोसमयदेखि कार्यरत छन।



