काठमाडौं। काठमाडौं गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ।
थाइल्यान्डको ब्यांककमा गरिएको नमुना परीक्षणबाट टुकुचामा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन्।
`टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमुना संकलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौं,´ उनले भनिन्, `यदि उक्त भाइरस संक्रमण भएको भए खोलाको ढलको नमुनामा फेरि त्यो भेटिन्थ्यो। पोलियो भाइरस नदेखिएपछि हामीले संक्रमित होइन भनेर पुष्टि गर्यौँ।´
गत असारमा काठमाडौं महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै वाग्मती र टुकुचाखोला संगमबाट नमुना संकलनपछि परीक्षण गर्दा पोलियो फेला परेको थियो।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमुना संकलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए।
सन् २०१७ देखि खोप शाखाले ढलबाट नमुना संकलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ।
काठमाडौँका उपत्यकाका वाग्मती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमुना संकलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा. गौतमले बताए।
काठमाडौं उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमुना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ।
सन् २०१० यता मुलुकमा पोलियो संक्रमण भेटिएको छैन। पोलियो जीवाणुबाट फैलने पोलियो संक्रामक रोग हो। पोलियो संक्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन्।



