काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिएर स्वदेश फर्किएका छन।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते अजरबैजान गएका राष्ट्रपति पौडेल शुक्रबार बिहान स्वदेश आइपुगेका हुन। कोप-२९ गत २६ कात्तिकबाट सुरु भएको थियो।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री एवम सरकारका उच्चपदस्थ अधिकारीले स्वागत गरे।

सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो। साे क्रममा नेपाली सेनाकाे एक टुकडिले सलामी अर्पण गरेकाे थियाे।

राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए।
त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र माल्दिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएका थिए।




