काठमाडौं। पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेर अलपत्र परेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख सहित दुई जनालाई सेनाले बिहीबार आज हेलिकप्टरमार्फत उद्दार गरि थप उपचारका लागि काठमाडौं ल्याएको हो।
धादिङ प्रशासनले बुधबार नै उद्दारको प्रयास गरे पनि
खराब मौसमका कारण अवतरण गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरूलाई उद्धार नगरेरै हेलिकप्टर फर्किएको थियो।
पर्यटन प्रवर्द्धनका लागि भन्दै गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र प्राविधिक सहायक अनुसिया ढुंगानामा श्वासप्रश्वासको समस्या देखिएको थियो। आधार शिविर नपुग्दै आँखुखोला नजिक बिरामी परेपछि १६ जनाको टोली बीच बाटोमै रोकिएको थियो।
नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले दुई जनालाई उद्दार गरेर काठमाडौं ल्याइएको जनाएको छ। यस्तै बिरामी परेका दुई जना बाहेक अन्यलाई हिन्दुङ गाउँमा छाडिएको र सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ।
पर्यापर्यटन प्रवर्धनको उद्देश्यले धादिङको रुबिभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली ६ दिनदेखि यात्रामा थिए। सोमबार राति त्यस स्थानमा पुगेका उनीहरू हाई अल्टिच्युडका कारण बिरामी परेका थिए। टोलीमा २७ जना थिए।



