बाकु, अजरबैजान। राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गरेका छन।
अजरबैजानको बाकुमा कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु आएका राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईलहाम अलियेफसँग बाकुमा बिहीबार भएको भेटवार्तामा सो आग्रह गरेका हुन।
`जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शुन्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौं´, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनको ठूलो प्रभाव व्यहोरी रहेको बताए।
उनले हिमालमा भएका हिउँ पग्लिरहेको, तल्लोतटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटी रहेको एवम् जलवायु परिवर्तनबाट निःसृत प्राकृतिक विपद्बाट हरेक बर्ष ठूलो जनधनको क्षति भइरहेको जानकारी दिँदै यस वर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गरे।
`सरकारले हरेक बर्ष बजेटको ठूलो हिस्सा जलवायुबाट प्रभावित जनसंख्याको लागि खर्च गर्नु परिरहेको छ´,राष्ट्रपति पौडेलले भने।
पर्वतीय भू–बनोट तथा भू–परिवेष्ठित अवस्थितिका कारण हामी बीच भौगोलिक समानता मात्र नभई पर्वतीय मुलुकले सामना गर्नुपरेका संरचनागत चुनौती र अवसरहरु पनि समान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने,` जलवायु परिवर्तन विश्वको साझा मुद्दा हो, पर्वतीय भूभाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असरहरू सामना गर्नुपरिरहेको छ, नेपालले पर्वतीय मुलुकहरुले सामना गर्नु परेका मुद्दाहरुलाई कोपलगायत विभिन्न मञ्चहरुमा उठाउँदै आएकाले यसमा अजबैजानी सरकारको ऐक्यबद्धताको लागि आग्रह गर्न चाहन्छु।´
सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको वृहत विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गरे। उनले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढीरहेका र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए।
`आर्थिक रूपान्तरण र विकास बिना हामीले हासिल गरेको राजनीतिक उपलब्धिहरू संस्थागत गर्न सकिंदैन´, उनले भने।
राष्ट्रपति पौडेलले अजरबैजानका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भईरहेको कोप २९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्वन उत्सर्जन गर्ने तर जलवायू परिवर्वनको ठूलो असर व्यहोरिरहेका मुलुकहरुको हक र हित संरक्षण गर्ने विश्वास व्यक्त गरे।
भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेफले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्धामा नजिक रहेर काम गर्ने बताएको सल्लाहाकार पोखरेलले जानकारी दिए ।उनले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको बताएका थिए।
सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुबै देशले संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चहरूमा दीगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका बिषयहरुमा सहकार्य गरिरहेका छन्।
राष्ट्रपति पौडेलले कोप २९ अन्र्तगत उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो।
राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग गरेको सामुहिक भेटघाट कार्यक्रममासमेत पौडेल सहभागी भएका थिए।
अजरबैजानका समकक्षीसँगको भेटपछि राष्ट्रपति पौडेल स्वदेश फर्कने क्रममा आजै बाकुबाट कतारको दोहाको लागि प्रस्थान गर्ने कार्यक्रम छ। उनी शुक्रबार बिहान काठमाडौं आईपुग्ने कार्यतालिका। सम्मेलन भने आगामी मंसिर ७ गतेसम्म चल्नेछ।



