बाहिरिंदै गर्दा आफ्ना समर्थकको हुटिंङ्लाई सम्बोधन गर्दै लामिछानेले भने,`खोरमा थुनिंदैमा बाघ स्याल हुँदैन।´
लामिछानेलाई आज मंगलबार नै पोखराबाट बुद्ध एयरको विमानमार्फत रुपन्देही ल्याइएको थियो। उनलाई विमानस्थलबाट सिधै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगेर बयान सुरु गरिएको थियो।
रुपन्देहीस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग बयान लिन सुरु गरिएको हो। प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गर्न लागेको हो।
रुपन्देही प्रहरीले लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रुपन्देहीबाट यसअघि नै अनुमति लिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहँदै आएका छन।



