काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा सेवाको प्याकेजबाट उपलब्ध हुने औषधि र औषधिजन्य सामग्री बाहिर किन्न नलगाउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ।
बोर्डले बुधबार एक सूचना जारी गर्दै बीमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू सोही सेवा प्रदायक संस्था तथा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको गुनासाहरू प्राप्त भएको भन्दै त्यस्तो गरिएको पाइए कानुन बमोजिम कारबाही हुने जनाएको हो।
बोर्डका नीति योजना शाखा, प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहद्वारा जारी सूचनामा सो किसिमका गतिविधि हुनु स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधिको विपरीतका गतिविधि रहेको बोर्डले स्मरण गराएको छ।
यदी त्यस्तो गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम हुने व्यहोरा बोर्डले उल्लेख गरेको छ।
सो सन्दर्भमा, त्यस्ता प्रकृतिका कार्यहरू नगर्न/नगराउन तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न बोर्डले सबै सेवा प्रदायकहरुलाई अनुरोध गर्दै अनुगमनसमेत गरिने चेतावनी दिएको छ।




