काठमाडौं। कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज मंगलबार देखि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कतार एयरले भैरहवाबाट दैनिक उडान भर्न लागेको हो। प्राधिकरणका सूचनाअधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि दैनिक उडान भर्न लागेको जानकारी दिए। कतार एयर आज २:४५ बजे भैरहवा अवतरण गर्दै छ।
कतारले दैनिक दुई उडान काठमाडौंबाट तथा एक उडान भैरहवाबाट गर्ने भएको हो। कतार एयरवेजले भैरहवाका लगि ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिसकेको छ। कतारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत हुनु अघिसम्म दैनिक चार वटा अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो।
यसअघि भैरहवाबाट एयर एसिया, जजिरा एयर, फ्लाइ दुबई र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेका छन। कतार एयरको भैरहवा उडान सुरुभएसँगै अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स पाँच पुग्ने छ।
प्राधिकरणका सुचना अधिकारी भुलले विश्वका ठूला एयरलाइन्सले भैरहबाट उडान सुरु गर्नु रणनीतिक हिसाब र आर्थिक हिसाबबाट पनि निकै महत्त्वपूर्ण रहेको बताए। यस्तै अन्तर्राष्ट्रिय उडानमा भएको भाडा वृद्धिलाई पनि नियन्त्रण गर्न भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानले सहयोग पुग्ने उनको भनाइ छ।
गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक कात्तिक १४ गते एकै दिन तीनवटा अन्तर्राष्ट्रिय भएको थियो। थाई एयर एसियाले कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो। यस्तै फ्लाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान सुरु गरेको थियो। हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो।
यस्तै नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ। विसं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो।



