काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको मुद्दामा अनुसन्धानका लागि आज रुपन्देही पुर्याइदैं छ।
लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बयानका लागि रुपन्देही पुर्याउन लागिएको हो।
प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गर्न लागेको हो।
रुपन्देही प्रहरीले लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रुपन्देहीबाट यसअघि नै अनुमति लिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
लामिछानेको आज नै भैरहवाबाट बयान सकाएर कास्की पुर्याउने प्रहरीको तयारी छ। लामिछानेलाई गत कार्तिक २५ मा थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीले लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराएकोमा जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
त्यसअघि गत २० कार्तिकमा १० दिनको म्याद थप गर्दै लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सो म्याद २४ कार्तिक सकिएको थियो।
कास्की प्रहरीले लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान गरिरहेको छ।
लामिछाने २ कार्तिकदेखि अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन। त्यस अघि गत ८ कार्तिकमा ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको थियो।
पहिलोपटक लामिछानेलाई गत ४ कार्तिकमा ६ दिनको म्याद थप भएको थियो। उनी २ कार्तिकमा काठमाडौबाट पक्राउ परेका थिए भने ३ गते शनिबार परेका कारण उनलाई ४ गते अदालत उपस्थित गराइएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा उनलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी आरोपमा बयान लिइसकेको छ भने बयानको प्रमाणिकरणसमेत सकिसकेको छ।



