अस्ट्रेलिया। अस्ट्रेलियामा नेपाल महोत्सव आयोजना हुने भएको छ। आगामी मंसिर ८ गते अर्थात नोभेम्बर २३ का दिन सिड्नीको डार्लिङ हार्बरस्थित टुम्वोलोङ पार्कमा महोत्सव हुने भएको हो।
एनआरएनए अस्ट्रेलियाको आयोजनामा हुने महोत्सवमार्फत नेपाली कला संस्कृति रीतिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए। महोत्सवमा न्यू साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्स प्रमुख अतिथिका रुपमा सहभागी हुने छन।
अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचारा बढाउन महोत्सव आयोजना गरिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए।
महोत्सवमा नेपाल हाउस समेत स्थापना गरिनेछ। जसमा नेपाल चिनाउने गरि धरहरा, ढुंगेधारा,पशुपतिनाथ, बौद्ध स्तुपा लगयत नेपाल हाउसमा राखिनेछ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँगको विशेष सहकार्यमा नेपालको पर्यटन पवर्द्धनको लागि विविध कार्यक्रमहरू महोत्सवमा आयोजन हुनेछन।
कार्यक्रममा अस्ट्रेलियास्थित विविध पर्यटन र पर्यावरण व्यवसायीहरुको स्टल राखिनेछ। यस्तै विविध नेपाली खानाका परिकारसहित दुई दर्जनबढी छुट्टा छुट्टै खानाका स्टल राखिने गैर आवासीय नेपाली संघ एनएसडब्लु राज्य समितिले जनाएको छ।
कार्यक्रमको प्रचार प्रसारका लागि सिड्नी सहरको लिभरपुल स्ट्रिट, वाथ हर्स्ट स्ट्रिट फेस्टिभल सम्पन्न हुने डार्लिङ्ग हार्वरको तुम्वोलङ्ग पार्क वरपर नेपाली झण्डा फहराइने छ।
विशेषत नेपाल हाउस मार्फत समग्र नेपालको भूगोल, भौगोलिक परिचय (तराई, पहाड, हिमाल) लाई प्रस्तुत गर्ने गरि नेपाल र नेपालीसँग सम्वन्धित विभिन्न पर्यटकीयस्थल, धार्मिक स्थल, ऐतिहासिक स्थलको जानकारी तथा विविध भेषभुषा, कला, कृति, भाषा साहित्य एवम राज्य व्यवस्थाको विभिन्न काल खण्डको परिचय र जानकारी महोत्सवमा प्रस्तुत गरिने छ।
अस्ट्रेलियास्थित नेपाली व्यवसायीको विशेष व्यवसायीक स्टल र प्रदर्शनीसँगै यस पटक नेपाली ह्याण्डीक्राफ्टका उत्पादनहरूसमेत महोत्सवमा प्रदर्शनीमा राखिने छ।
कार्यक्रम सुरू हुनु अघि बिहान साढे १० बजेबाट विशेष परेड र झाँकीमार्फत नेपालको कला संस्कृती झल्काउने गरी बाजागाजा सहित शान्ति पद यात्रामार्फत सहर परिक्रमा गरिनेछ।
यस्तै रास्ट्रियस्तरका लोक, पप, रक स्टार एवं नेपाली चलचित्रका स्थापित कलाकारहरुको प्रस्तुति महोत्सवमा हुनेछ। कार्यक्रमा नेपालबाट आएका द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुती रहनेछ। साथमा स्थानीय कलाकारहरूको विविध सांगीतिक कार्यक्रम समेटिनेछ। साथै विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरु प्रदर्शन गरिनेछ।
महोत्सवमा अस्ट्रेलिया सरकारका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरुको विशेष सम्वोधन रहने छ। यस्तै नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्डको साथै क्यानवेरास्थित अस्ट्रेलियाका लागि नेपाली राजदूतावासबाट प्रतिनिधिको उपस्थिति रहने आयोजकले जनाएको छ।
करिब ५० हजारको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमको लागत कम्तिमा २ लाख ५० हजार डलर हुने अनुमान गरिएको छ। अस्ट्रेलियामा नेपाल महोत्सव प्रत्येक दुई वर्षमा आयोजना गर्ने गरिएको छ।



