काठमाडौं। सरकारले श्रम स्वीकृति नै नलिई विदेशमा काम गरिरहेका नेपाली श्रमिकलाई अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णय गरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए।
`यो व्यवस्था कार्यान्वयनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन्, नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ, तर नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो´, मन्त्री भण्डारीले भने।
श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्नेछन्।
श्रमिकलाई श्रम स्वीकृतिको प्रक्रियामा ल्याउन सम्बन्धित मुलुकमा रहेको नियोगका साथै नेपाली सङ्घसंस्थालाई पनि परिचालित गरिने मन्त्री भण्डारीको भनाइ छ।



