काठमाडौं। क्वान्टम भौतिकशास्त्री डा जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन्।
नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
'योग र यज्ञका माध्यमबाट नेपालले विश्ववको नेतृत्व लिन सक्छ,' कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'योग र यज्ञले समाजमा शान्ति स्थापना गर्छ। यी दुवै विषय स्वर्णयुगका उच्चतम प्रविधि हुन्। यीभन्दा शक्तिशाली विषय संसारमा कुनै पनि छैन।'
योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्व लिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो। ५० वर्षअघि नेपाल आएका महर्षि महेश योगीले नेपालले संसारको नेतृत्व लिन सक्ने धारणा व्यक्त गरेका थिए। सोही विषयलाई थप प्रकाश पार्दै डा हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए। उनका अनुसार विश्वको नेतृत्व लिने नेपालका दुई वटा रणनीति योग र यज्ञ भएको उल्लेख गरे।
अमेरिकास्थित ट्रान्सेन्डेन्टल मेडिटेसन अर्गनाइजेसनका निर्देशकसमेत रहेका डा हेगलिनले नेपाललाई विश्वको नेतृत्व लिन सक्ने बनाउनका लागि आफूहरूले योगविज्ञान र यज्ञयज्ञादिका विषयलाई मुख्य रूपमा जोड दिएको उनको भनाइ छ।
फाउन्डेसनले चम्पादेवीमा क्याम्पस स्थापना गरेको छ। क्याम्पसमा यज्ञ र योगका विषय अध्ययन अध्यापन हुँदै आएका छन्।
महर्षि महेश योगी नेपाल आएको ५० वर्ष पुगेको अवसरमा आयोजित महायज्ञमा उनले नेपालले मात्र प्राचीन वैदिक ज्ञान बुझ्न सक्ने भएकाले विश्वको नेतृत्व गर्न सक्ने क्षमता पनि नेपालसँग भएको उल्लेख गरेका थिए।
विश्वलाई पूर्णरूपमा स्वस्थ बनाएर विश्वमा शान्ति स्थापना गर्न सकिन्छ भन्ने कुरा महर्षि योगीले पनि भनेको कुरालाई आफूहरूले पटकपटक दोहोर्याउँदै आएको उनले बताए।
अमेरिकास्थित महर्षि इन्टरनेसन युनिभर्सिटीका निवर्तमानअध्यक्षसमेत रहेका डा हेगलिनले वैदिक प्रणाली र आधुनिक वैज्ञानिक प्रणालीमा आधारित शिक्षा दिनका लागि आफूहरूले विश्वविद्यालय सञ्चालन गरिरहेको बताए।
'एमआईयू पश्चिमा जगतमा वैदिक ज्ञानको केन्द्रबिन्दु बनेको छ। अमेरिका र विश्वका मेडिकल डाक्टरहरू आयुर्वेद अध्ययनका लागि एमआईयूमा आउने गरेका छन्,' उनले भने, 'गत महिना मात्र अमेरिकी मेडिकल असोसिएसनले आयुर्वेदलाई मान्यता दिएको छ। एमआईयू नभएको भए यो काम पूरा हुने थिएन।'
उनले एमआईयूमा सबै किसिमका योग, संस्कृत, वास्तुविद्यालगायतका वैदिक प्रणालीअनुसारका विषय अध्ययनअध्यापन र अनुसन्धान हुने बताए। 'संसारको स्वास्थका लागि आयुर्वेद महत्वपूर्ण छ,' उनले भने।
क्वान्टम फिजिक्सका अध्येता डा हेगलिनले आयुर्वेद र भौतिकशास्त्रका समानता पनि केलाएका थिए। कार्यक्रममा वैदिक ज्ञानप्रणालीमा रहेर विभिन्न क्षेत्रका काम गरिरहेका व्यक्तित्वले वैदिक ज्ञान, योग र यज्ञादिका विषयमा धारणा प्रस्तुत गरेका थिए। हेगलिन इन्टरनेसनल सेन्टर फर इन्भिन्सिबल डिफेन्सका कार्यकारी निर्देशकसमेत छन्।
महायज्ञमा १ हजार १११ जनाले रुद्रिपाठपारायण गर्न सुरु गरेका छन्। कार्यक्रम कात्तिक २५ गते समापन हुने फाउन्डेसनका अध्यक्ष दीपक बास्कोटाले जानकारी दिए।



