काठमाडौं। डोटीमा हात भाँचिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।
डोटी राजपुरस्थित सुजङ अस्पतालमा उपचारका लागि ल्याइएकी ९ वर्षिया बालिका रजनी भुलको शल्यक्रिया गर्नका लागि एनेस्थेसिया दिएपछि मृत्यु भएको हो।
बायाँ हात भाँच्चिएकि उनलाई उपचारका क्रममा बुधबार राति चिकित्सकहरुले शल्यक्रिया गर्नु पर्ने भन्दै एनेस्थेसिया सुई दिएका थिए। दिपायल सिलगढी नगरपालिका ३, दिपायलकी भुलको एनेस्थेसिया दिए लगत्तै करिब ८ बजे मृत्यु भएको र उपचारका क्रममा लापरबाही भएको परिवार तथा आफन्तले आरोप लगाएका छन।
बालिकालाई सुई दिएपछि उनी होसमा नआएको परिवारको आरोप छ। बालिकाको शव परिवारले बुझेका छैनन।
प्रहरीलेसमेत उपचारका क्रममा लापरबाही भएको हुनसक्ने अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार बेहोस पार्ने क्रममा एनेस्थेसियामा दिएको औषधिको असरका कारण बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
बालिकाका आफन्तहरुले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पतालमा समेत तोडफोड गरेका छन।
प्रहरीले बालिकाको मृत्युपछि उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएको छ। आफन्तको आक्रोश बढ्दै गएपछि तथा अस्पतालमा तोडफोड हुने अवस्था बढ्दै जाँदा प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उपचारमा संलग्न डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो।



