काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौका विभिन्न आठ स्थानमा छठ घाट तयार गरिएको जनाएको छ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह `बालेन´ ले काठमाडौं महानगरपालिकाका विभिन्न आठ स्थानमाछठ घाट तयार गरिएको जानकारी दिएका हुन।
उनले सामाजिक संजाल फेसबुकमार्फत छठ घाट तयार गरिएको स्थानबारे खुलाएका छन।
जसअनुसार काठमाडौं महानगरपालिकाका वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडा नम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ।
ती स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको बालेनले भनेका छन।
छठका लागि तराइसहितका विभिन्न भुभागमा नदि, तलाउ, पोखरीलाई आकर्षक रुपमा सजाइएको छ। छठको पहिलो दिन मंगलबार नहाय खाय मनाइन्छ। जसमा ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन्।
मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व अहिले पहाडी भुभागमासमेत हर्सोल्लासका साथ मनाइन थालिएको छ।अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ।
छठको दोस्रो दिन बुधबार खरना मनाइन्छ। खरनामा साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गर्ने गर्दछन।
यसैगरी बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ।
नदि, पोखरी, तलाउ आदिमा सूर्यलाई अर्घ्य दिन जलाशयको किनारमा घाट बनाएर पुजा आरधना गर्ने गरिन्छ।



